काठमाण्डु, २७ भदौ – नेपाल राष्ट्रिय शिक्षक सङ्ठनले सरकारले विगतमा आफूहरुसंग गरेका सम्झौताहरु अविलम्ब कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले गत भदौ २४ र २५ गते भएको १८ औं राष्ट्रिय परिषदको निर्णयहरु सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा संङ्ठनले आफूहरुसंग सरकारले विगतमा गरेका सवै खाले सम्झौताहरु अविलम्ब कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
कार्यक्रममा संगठनले गत भदौ २४ र २५ गते नेकपा एमाले नवनिर्वाचित अध्यक्ष एवम संसदीय दलका नेता केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाण्डु सुन्धरास्थित ग्यालेक्सी पार्टी प्यालेसमा सम्पन्न गरेको १८ औं राष्ट्रिय परिषदको निर्णय तथा समसमाययिक विषयवस्तुमा उठाएका प्रस्तावहरुको वारेमा समेत प्रकाश पारेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष बाबुराम थापाले १८ औं राष्ट्रिय परिषदमा विगतमा सरकारसंग भएका सम्झौताहरु अविलम्ब कार्यन्वयन गरिनुपर्ने, साझा शिक्षक यूनियनको गठन गरिनुपर्ने जस्ता महत्वपूर्ण निर्णयहरु भएको जानकारी दिएका छन् । थापाले भने–शैक्षिक गुणस्तरका निमित्त हामीले एउटा बैग्लै खाले कार्यक्रम लिएर आएका छौं । कार्यक्रमको नारा भने हामी सक्छौं, हामी गर्छौ भन्ने तय गरेका छौं ।
थापाले राष्ट्रिय परिषदमा आगामी दिनमा एस.एल.सीको नतिजामा स्तोरोन्तीका लागि प्रभावकारी भूमिका निर्वाह गर्दै अहिले भैरहेकोमा कम्तीमा पनि थप ५० प्रतिशत विद्यार्थीहरु विषयगत तथा कक्षागत रुपमा उत्तिर्ण गराउन प्रतिबद्धता जाहेर गरेको पनि जानकारी दिएका छन् ।
राष्ट्रिय परिषदको भेलाले शैक्षिक गुणस्तरका खातिर महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरुका निमित वर्तमान शिक्षक सेवा आयोगलाई संवैधानिक अंगको रुपमा कायम गरिनुपर्ने, बर्तमान पाठ्यक्रमलाई सुधार गर्दै शिक्षालाई जीवनसंग गास्नुपर्ने , अस्थायी शिक्षकका समस्यालाई विगतमा भएका सवै खाले सम्झौताहरु कार्यन्वयन गरिनुपर्ने लगायत मुलुकको समसामयिक समस्याका बारेमा समेत निर्णयहरु गरेको संगठनले बताएको छ ।
परिषदको भेलामा शिक्षा मन्त्रलालयका सचिव विश्व प्रकाश पण्डित, विभागका महानिर्देशक डा. लवदेव अवस्थी, संठनका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला लगायतको आ–आफ्नो धारणा राखेको पनि संगठनले जनाएको छ ।