काठमाण्डु, २७ भदौ – जनमोर्चा नेपाल अध्यक्ष चीत्रबहादुर केसीले यसपालीको गृहकार्यले पनि संविधान नबन्ने बताएका छन् ।
शुक्रबार संविधानसभा बैठकमा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिहिबार पेश गरेको समितिको प्रतिवेदनमाथि बोल्दै केसीले अघिल्लो ४ वर्ष यस्तै गरी विताएको उल्लेख गर्दै यसपालीको गृहकार्यले पनि संविधान नबन्ने बताए।
उनले भने, ‘अघिल्लो संविधानसभामा अन्तिम घडीसम्म पनि संविधान बन्दैन भनेर कसैले शब्द उच्चारण गरेनन्। सहमति शब्दको डिङ हाँकेर बसे । अघिल्लो संविधानसभाको जुन दुर्दशा भयो र नेपाली जनताको खर्वौ रुपैया सकियो,’ उनले अगाडि भने, ‘मैले भनेको तपाइँ नमान्ने तपाइले भनेको अर्काले नमान्ने। क्षेत्रीय जातीय पक्षले आफ्नो माग नभए मान्दिन भन्ने। अनि कसरी सहमति हुन्छ ?’
‘संसारले देखेको छ सभापतिले समितिमा लिएको सक्रियता देख्दा लाग्छ बढी गर्जने बादलले पानी पर्दैन तपाई दुःख नमान्नु भनेको थिएँ,’ उनले भने, ‘विगतमा यहि संघीयताको विषयले संविधान बनेन अहिले पनि बन्न कठिन छ। संविधान बनाउने हो भने प्रक्रियामा जानु पर्छ। अन्यथा संविधान बन्ने वाला छैन इतिहास दोहोरिन्छ हामी फेरि लोगो लगाएर भत्ता खाने अवस्था आउँछ।’
यस्तै हो भने नेपाल थाइल्याण्ड बन्ने निश्चित छ भन्दै विवादित विषयमा एक अर्कालाई सहमतिमा ल्याएर सहमति हुन्छ भने गरौ होइन भने लाज घिन नमानी प्रजातान्त्रिक प्रक्रियाबाट विवादको समाधान गर्न सुझाएका छन्।