
काठमाण्डु, २७ भदौ– संविधानसभा संवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधान नबनाउन आफूलाई दबाब आएको बताएका छन् ।
सभापति भट्टराईले बिहीबार संविधानसभा बैठकमा बोल्दै आफूमाथि संविधान नबनाउन मनोवैज्ञानिक दबाब आएको धारणा राखेका हुन् । ‘तपाईं किन संविधान बनाउन लागिरहनुभएको छ ?’ भट्टराईले आफूलाई आएको दबाब उद्धृत गर्दै बैठकमा भने, ‘संविधान बन्न सक्दैन, त्यसैले तपाईं यसरी लागिरहनुपर्दैन ।’
उनले दबाब कहाँबाट आयो र कसले दियो भन्ने विषयमा भने केही पनि खुलाएनन् । संविधानसभा भवनबाट बाहिरिँदै गर्दा ‘तपाईंलाई संविधान नबनाउन कहाँबाट दबाब आयो ?’ भन्ने पत्रकारको जिज्ञासामा उनले सबै कुरा अहिले नै बताउन नमिल्ने प्रतिक्रिया दिएका थिए ।
संविधानसभामार्फत जनताले संविधान बनाउने यो नै अन्तिम मौका हुनसक्नेतर्फ बैठकको ध्यानाकर्षण गराउँदै भट्टराईले सहमतिका लागि सबै तयार हुनुपर्ने धारणा राखेका छन् ।
नागरिक दैनिकबाट