काठमाण्डु, २७ भदौ– हृदयघात भएका एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको अवस्थालाई मध्यनजर गर्दै बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट नर्भिक अस्पतालमा सारेकाे चिकित्सकले बताएका छन् ।
बाेगटीकाे बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गएराति नै शल्यक्रिया गरिए पनि अझै होस आएको छैन ।
पारिवारिक स्रोतका अनुसार उनको शरीरको देब्रेपट्टिको भाग चल्दैन । उनको आज बिहान सिटिस्क्यान गरिएको छ । रोग पहिचान हुन नसक्दा उनलाई गंगागाल पुर्याउन ढिलाइ भएका कारण उनको अवस्थामा समयमै सुधार ल्याउन नसकिएको चिकित्सकले बताएका छन् ।
यद्यपि उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । गंगालालअघि उनलाई अन्य अस्पतालमा लगिएको थियो । बोगटीलाई गएराति १० बजे काठमाण्डुको सानो भर्याङस्थित निवासमा हृदयघात भएको हो ।
बिहीबार दिनभर प्रमुख दलका शीर्ष नेताको बैठकमा सहभागी भएर साँझ घर गएका बोगटीलाई एक्कासि हदृदयघात भएको थियो ।
अस्पताल परिसरमा बिहानैदेखि माओवादी नेता कार्यकर्ता र समर्थकको भिड लागेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायतका नेता बोगटीको स्वास्थ्य अवस्था बुझ्न राति नै अस्पताल पुगेका थिए ।