काठमाण्डु, २६ भदौ– संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानभामा समितिको प्रतिवेदन पेस
गरेका छन् ।
संविधानसभाको बिहीबारको बैठकमा उनले सहमति र असहमतिका विषय समेटिएको प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेस गर्दै भट्टराईले संविधानका आधारभूत अन्तरवस्तुमा प्रमुख दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिए ।
उनले बहुमतीय प्रक्रियामा जाँदा संविधान नबन्ने खतरा रहेको भन्दै सहमतिको बाटोबाट अघि बढ्न आग्रह गरे । प्राविधिक र समान्य विषय मात्र बहुमतीय प्रक्रियाबाट टुंगो लगाइनुपर्ने उनको भनाइ थियो । भट्टराईले सहमतिको विधिबाट अघि बढ्न नसके मुलुक पक्ष/विपक्षमा विभाजित हुने तथा त्यसले असन्तुष्टि र विग्रहको बिउ रोपिने खतरा रहेको बताए ।
‘दलहरु सहमतिको बाटोबाट अघि बढ्न नसके पूरै देश विभाजित हुने र असन्तुष्टि र विग्रहको बिउ रोपिने खतरा रहन्छ’, भट्टराईले भने, ‘एउटा झिल्कोले डँढेलो लाग्छ भन्नेतर्फ सबै गम्भीर र सचेत हुर्नेपर्छ ।’ तर सहमतिका नाममा माघ ८ गतेपछि संविधान जारी गर्ने दिशामा लैजान भने नहुने उनले प्रष्ट्याए ।
माघ ८ मा संधिवान जारी नभए युवा शक्तिको विदेशिने क्रम थप बढ्ने र मुलुकमा बूढाबूढी मात्र बाँकी रहने उनको भनाइ थियो । ‘माघ ८ लाई लक्ष्मण रेखा बनाएर अघि बढ्नुपर्छ’, भट्टराईले भने, ‘संविधान बनाइसक्दा देशमा युवा कोही नरहने र बूढाबूढी मात्र बाँकी रहने अवस्था आउँन सक्छ ।’
भट्टराईले संविधानसभाबाट संविधान नबन्ने भएकाले त्यतापट्टी बढी समय नखर्चन मनोवैज्ञानिक दबाब आउने गरेको बताए । तर कसले दबाब दिएको हो भन्नेबारे उनले थप केही बताएनन् ।