काठमाण्डु, २६ भदौ– प्रधानमन्त्री सुशील काेइरालाका भाई डा. अरुण कोइरालाले वरिष्ठ पत्रकार एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई ज्यान
मार्ने धम्की दिएका छन् ।
कोइरालाले ९८४८०४३००१ नम्बरको मोबाइलबाट टेलिफोन गरी बिहीबार ज्यान मार्ने धम्की दिएका हुन् । प्रधानमन्त्रीका सहोदर भाई अरुण काँग्रेस बाँकेका सभापति समेछ छन् । श्रेष्ठका अनुसार कोइरालाले अमेरिकी पत्रकारलाई इराकी विद्रोहीले जसरी हत्या गर्ने धमकी दिएको जानकारी काठमाण्डु टुडेलाई दिए ।
‘प्रधानमन्त्रीका भाई बोलेको भन्दै फोनबाट इराकमा मारिएका पत्रकारको हालत बनाइदिन्छु भन्दै धम्क्याए’, श्रेष्ठले भने । कोइरालाले तल्लोस्तरका शब्द प्रयोग गरी आमाचकारी गाली गरेको श्रेष्ठले बताए ।
कोइरालाले जनआस्था साप्ताहिकमा प्रधानन्त्री कोइरालाबारे छापिएको समाचारलाई लिएर सम्पादक श्रेष्ठलाई धम्की दिएका हुन् । जनआस्थाको बुधबारको अंकमा ‘बाँकेलाई प्रमले यसरी बाेका बनाए्’, शीर्षमा समाचार छापेको थियो । समाचारमा प्रधानमन्त्री कोइरालाले निर्वाचनका बेला जनाएका प्रतिबद्धता पूरा नभएको उल्लेख छ ।
कोइराला गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा बाँके–१ बाट निर्वाचित भएका थिए । श्रेष्ठले समाचारमा चित्त नबुझे खण्डनका लागि आग्रह गर्ने वा कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु निन्दनीय भएको बताए ।
‘हिजो राजा र सेनाले खेदेका थिए’, श्रेष्ठले भने, ‘आज प्रजातन्त्रका नाममा धम्की दिँदैछन्, मलाई यस्तो धम्कीसँग डर लाग्दैन ।’