
काठमाण्डु, २६ भदौ– सरकारले कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको कतारका लागि तत्कालिन नेपाली राजदूत मायाकुमारी शर्माले पदमा छँदा राज्य ढुकुटीबाट ३९ लाख रुपैयाँ खर्च गरेकी थिइन् ।
उनले टेलिफोन, उपचारलगायत विभिन्न शीर्षकमा खर्च भएको भनी परराष्ट्र मन्त्रालयलाई हिसाबसमेत बुझाइन् । परराष्ट्रले खर्चको विश्वासिलो आधार नभएको भन्दै स्वीकृत गरेको छैन ।
कतारस्थित दूतावासले भने शर्माले खर्चेकका रकम बराबर राजस्व पूर्ति गरिदिन आग्रह गर्दै मन्त्रालयलाई बारम्बार ताकेता गरिरहेको छ । स्रोतअनुसार उक्त रकम महालेखापरीक्षकको बेरुजुमा देखिनेछ ।
शर्माले यो रकम सोझै दूतावासले उठाएको राजस्वबाट झिकेर खर्च गरेकी हुन् । दूतावासले वैदेशिक रोजगार सिलसिलामा कतार पुगेका नेपालीसँग राहदानी र कन्सुलर सेवाबापत राजस्व संकलन गर्छ ।
यसमध्ये ठूलै विपत परे मात्र मन्त्रालयको स्वीकृतिमा सानो अंश खर्च गर्न सक्ने प्रावधान छ ।
नागरिक दैनिकबाट