उच्चस्तरीय संयन्त्र नभए सर्वदलीय सरकार बनाऔं: प्रचण्ड

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चस्तरीय राजनीतिक संयन्त्र नभए सर्वदलीय सरकार बन्नुपर्ने prachandaबताएका छन् ।
संविधानसभा बिट हेर्ने पत्रकारहरुसँग संविधानसभा भवनमा बुधबार कुरा गर्दै उनले आफूलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष नभई मुलुकलाई निकास चाहिएको बताए ।

काँग्रेस–एमाले आफ्नो नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउन तयार नभए सर्वदलीय सरकार बन्नुपर्ने उल्लेख गरे । ‘उच्चस्तरीय संयन्त्र बनाउनुपर्‍यो भन्दा काँग्रेस–एमालेका मित्रहरुले आपूलाई संयोजक चाहिएर भन्ने टिप्पणी गर्ने गरेका छन्, ‘मेरो भनाइको अनर्थ नलागोस्, संयन्त्रमा सहमति नभए सर्वदलीय सरकार बनाएर भए पनि मुलुकलाई निकास दिनुपर्छ ।’

उनले कांग्रेस-एमालेलाई ‘प्रचण्ड फोबिया’ भएको टिप्पणीसमेत गरे । ‘माओवादी तेश्रो पार्टी भयो अब सकियो भन्नेले मलाई चाहिं किन बलियो देख्ने ?’, प्रचण्डले भने, ‘काँग्रेस–एमालेका नेतालाई प्रचण्ड फोबिया भएको छ ।’ उच्चस्तरीय संयन्त्र नभए सर्वदलीय सरकार बन्नुपर्ने उनले बताए ।

प्रचण्डले आफ्नो पार्टी तोकिएकै मितिमा मुलुकलाई संविधान दिन प्रतिबद्ध रहेको दोहोर्‍याए । दुई माओवादी मिलेर संविधानसभा असफल नबनाउने खेलमा लागेको भन्ने आरोपको उनले खण्डन गरे । त्यस्तो टिप्पणीले आफूलाई दु:खी बनाएको उनले बताए ।

उनले दुई माओवादी मिल्ने सम्भावना रहेको भए पनि त्यो संविधान लेखनलाई भाँड्न नभई संविधान बनाउन भएको उल्लेख गरे ।
प्रचण्डले नेकपा–माओवादीसँग सर्वपक्षीय सम्मेलन गर्ने कुरा आफूले नभई सुशील कोइरालाले आविस्कार गरेको बताए ।

जेठ २६ गते प्रधानमन्त्रीकै कारण वैद्य माओवादीले ८ बुँदे सहमति पेस गरे पनि अझैसम्म छलफल नबोलाउनेले आफूहरुलाई संविधानको विरोधी भनेको बताए । सरकार सहमतिका लागि गम्भीर र जिम्मेवार नभएको आरोप लगाउँदै उनले चार बुँदे सहमति पालना नभएसम्म संसदको अवरोध नहट्ने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us