नुवाकोट पुगेर देउवाले भने, ‘संघीयता काम छैन’

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १३:३९ मा प्रकाशित

विदुर, २५ भदौ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक कुनै पनि हालतमा संघीयतामा जान नसक्ने बताएका छन् ।

sher_Bahadur_Deuba
पार्टी सम्वद्ध विद्यार्थी संगठन नेविसंघ नुवाकोटको जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले संघीयताले मुलुकले विकास विकासको गति लिन नसक्ने बताए । अर्थमन्त्री रामशरण महतले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग दिल्लीमा भएको भेटमा संघीयता थाती राखेर संविधान जारी गर्ने बताएलगत्तै देउवाको यस्तो भनाइ बाहिर आएको हो ।

महतको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले बुधबारको संसद बैठकमा हंगामा मच्चाएका छन् । नेता देउवाले अहिले भएकै संरचनामा केही सुधार गरेर राज्य पुनर्संरचना गर्न सकिने जिकिर गरे । प्रान्तीय सरकारको सट्टा जिल्ला विकास समितिलाई अधिकार सम्पन्न बनाउन सके विकासले गति लिने उनको दाबी छ ।

‘संघीयताले मुलुकको विकास हुँदैन’, देउवाले भने, ‘प्रान्तीय संरचना बनाएर कसैलाई मुख्यमन्त्री बन्न रहर भए जिल्ला विकास समितिहरुलाई अधिकार सम्पन्न बनाउन सकिन्छ ।’
देउवाले प्रमुख विपक्षीय एकीकृत माओवादीको अवरोधका कारण संविधान निर्माणमा ढिलाइ भएको आरोप लगाए । यद्यपि पूर्वनिर्धारित समय माघ ८ मा मुलुकलाई नयाँ संविधान दिएरै छाड्ने उनको अठोट थियो । देउवाले शासकीय स्वरुपमा संसदीय प्रणाली नै उपयुक्त रहेको भन्दै सो प्रणाली स्वीकार गर्न माओवादीलाई आग्रह गरे ।

कार्यक्रममा काँग्रेस नेता अर्जुननरसिंह केसीले दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमति नभए प्रक्रियाबाटै भए पनि तोकिएको मितिमा संविधान जारी गर्नुपर्ने बताए । मुख्य विवादित विषयको टुंगो जनमत संग्रहबाट समेत लगाउन सकिने केसीको भनाइ छ ।

केसीले एकीकृत माओवादी मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग मिलेर शान्ति प्रक्रिया भाँड्न उद्धत रहेको आरोप लगाए । सोही कार्यक्रममा काँग्रेसका अर्का नेता प्रकाशशरण महतले दलहरु संविधान निर्माणमा केन्द्रित हुन नसक्दा जनतामा फेरि पनि संविधान नबन्ने हो कि भन्ने आशंका बढेको उल्लेख गरे ।
नेविसंघको जिल्ला अध्यक्षका लागि जयराम दाहाल, उत्तम पाठक र शंकर पाण्डेले उम्मेदवारी दिने तयारी गरेका छन् । यद्यपि, पाण्डेले दाहाललाई सघाउने सम्भावना रहेको बुझिएको छ । दाहाललाई नेता अर्जुननरसिंह केसी र पाठकलाई प्रकाशशरण महतको समर्थन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us