काठमाण्डु, २५ भदौ – एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी अग्नि खरेलले पाएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले जिम्मेवारी दिएका हुन् ।
एमाले केन्द्रीय सदस्य अग्नि खरेल मन्त्रिपरिषद्को मनोनयनमा सभासद भएका हुन् । कानूनी पृष्ठभूमिका खरेल ओलीका विश्वास पात्र हुन् । उनी अघिल्लो संविधान सभा एमालेका तर्फबाट समानुपातिक सभासद् थिए ।
समानुपातिकबाट सभासद् बनेका व्यक्तिलाई उम्मेद्वार नबनाउने पार्टीको नीति अनुसार खरेल उम्मेदवार थिएनन् । तर संविधान निर्माण प्रक्रियाबारे बुझेको र विभिन्न सहमति तथा वार्तामा सहभागी भएकाले उनलाई २६ जनाको कोटाबाट मनोनयन गरेर ल्याइएको हो ।
गत माघमा नै संसदीय दलको नेतामा चयन भएपनि ओलीले उपनेता प्रमुख सचेतक र सचेतक तोकेको थिएनन् ।
प्रमुख सचेतक र सचेतक संसदीय दलको नेताले तोक्ने भने पनि उपनेताका लागि चुनावी प्रक्रियाबाट जानुपर्ने एमालेको संसदीय दलको विधानमा छ ।