नुवाकोट, २५ भदौ– नुवाकोटको मदानपुर–९ अधेँरी खोलामा पहिरो जाँदा बीचैमा अलपत्र परेका ९० जना यात्रुको प्रहरीले उद्धार गरेको छ ।
अधेँरी खोलाको दुई तिरबाट पहिरो खसेपछि बीचमा परेका बस र मोटरसाइकलबाट ती यात्रुको उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालयसहित तादी पुल र ककनीबाट गएको प्रहरी टोलीले डोरीको सहायतामा यात्रुको उद्धार गरेको थियो ।
दुईवटा बस, तीनवटा माइक्रो बस ९ वटा मोटरसाइकल र एउटा जिपमा रहेका करिब ९० यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए ।
अविरल वर्षासँगै दुईतिरबाट गएको पहिरोका कारण बस बीचैमा रोकिएका थिए । यसैबीच पहिरोको कारण पासाङ ल्यामु राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सुचारु गराउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ ।