नेपालगञ्ज, २४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचन जितेको बाँकेको नेपालगन्जमा लोडसेडिङको विरोधमा प्रदर्शन भएको छ ।

विद्युत प्राधिकरणले दैनिक १५ घन्टासम्म विद्युत कटौती गरेका कारण जनजीवन प्रभावित भएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका गरेका हुन् । विद्युत नियमित हुनुपर्ने माग गर्दै सर्वसाधारणले नगरका विभिन्न मागमा प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेका छन् ।
उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालयसमेत घेराउ गरे । त्यस क्रममा उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, उर्जामन्त्री राधा ज्ञवाली र सरकारविरुद्ध नाराबाजी गरे ।
समस्याबारे पटकपटक अवगत गराउँदा पनि प्रधानमन्त्री कोइरालाले चासो नदिएको आरोप प्रदर्शनकारीको छ । प्रधानमन्त्री कोइराला गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा बाँके–१ बाट निर्वाचित भएका हुन् ।
भारतबाट १३ मेगाबाट विद्युत आपूर्ति हुँदै आएको नेपालगन्जमा गत जेठदेखि भारतले ५ मेघाबाट विद्युत कटौती गरेको थियो । नेपालगञ्ज केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन ।