उदयपुुर, २४ भदौ– कतारमा मृत्यु भएका श्रीमानको शव घरमा ल्याएकै दिन पीडा सहन नसकेर त्रियुगा नगरपालिका–१७ गैरुनकी एक महिलाले सोमबार आत्महत्या गरेकी छन् ।
प्रहरी नायब उपरीक्षक जयराम सापकोटाका अनुसार २४ वर्षीया संगीता बातर सदाले सोमबार श्रीमान्को शव घरमा ल्याएपछि घरभित्रै विष सेवन गरेर आत्महत्या गरेकी हुन् ।
वैदेशिक रोजगारीका क्रममा कतारमा काम गर्दै आएका संगीताका श्रीमान् ३४ वर्षका हरि सदाको गत साउन २५ गते भवन निर्माणका क्रममा ६ तला अग्लो भवनबाट लडेर मृत्यु भएको थियो ।
संगीताले आत्महत्या गरेपछि श्रीमान्–श्रीमती दुवैको शव सोमबारै प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । आमाबुबा दुवैको मृत्युपछि उनीहरूका ६ महिने छोरा उत्तम तथा ८ वर्षीया छोरी उषाको बिचल्ली भएको छ ।