
काठमाण्डु, २४–प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले पार्टीमा गुटबन्दी हुर्काएको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवासँग जंगिएका छन् ।
आफ्नै विवेकले विपी विचारयात्रा चलाएको भन्दै उपसभापति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
संसदीय दलको सोमबारको बैठकमा प्रधानमन्त्री कोइराला डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को विशेष महाधिवेशन उद्घाटन गर्न देउवा गएकाप्रति आक्रोसित भएका हुन् ।
‘तपाइहरुले क्षमताअनुसार काम गर्दै जानुपर्ने हो तर गुटबन्दी गर्ने गरी किन तपाईँ हिजो डिएलएको महाधिवेशनमा जानुभयो ?’प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै एक सभासद्ले भने,‘ संविधान निर्माणजस्तो गहन अभिभारा कांग्रेससामु छ ,तर तपाईंहरु ग्रुप बनाउने ,ग्रुपिजम बनाएर अघि बढ्दै जानुहुन्छ,यो राम्रो भएन ।’
गुटबन्दी निर्माणमा ठूला नेता केन्द्रित भएपछि पार्टीका तर्फबाट मन्त्री भएकाहरुबाट पनि सहयोग नपाएको कोइरालाले गुनासो गरेका थिए । नयाँपत्रिकाबाट