
काठमाण्डु, ३ जेठ– भारतको १६ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी)ले इतिहास रचेको छ । भाजपा एक्लैले लोकसभामा बहुमत ल्याएर तीस वर्षको रेकर्ड तोडेको छ ।
नरेन्द्र मोदीको प्रधानमन्त्री उम्मेदवारीपछि आएको लहरले बिजेपीले नयाँ उचाई लिएको छ । बिजेपी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ । यसअघि १९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कांग्रेस आईले एक्लै बहुमत ल्याएको थियो । त्यसपछिको निर्वाचनमा कुनै एक दलले लोकसभामा बहुमत सिट हासिल गर्न सकेको छैन ।
पछिल्लो मत परिणाम अनुसार भारतीय जनता पार्टीले तीन सय ३७ सिट जितिसकेको छ । कांग्रेसले ५८ सिट हात पारेकाे छ । त्यस्तै आम आदमीले पनि चार सिट हात पारेको छ । अन्य दलले १४४ सिट जितेका छन् ।
पार्टी अध्यक्षको नाताले चुनावी हारको नैतिक जिम्मेवारी लिने सोनिया गान्धीले बताएकी छिन् । उनले भनिन् – ‘हामी जनताको मतको कदर गर्दछौं । आशा छ, अब बन्ने नयाँ सरकारले देश र जनताको हितमा काम गर्नेछ । ’
गत अप्रिल ७ मा सुरु भएको निर्वाचन मंगलबार सकिएको थियो । ६४.४ प्रतिशत अर्थात ५१ करोड मतदाताले मतदान गरेका थिए ।
पश्चिम बंगालमा तृणमुल कंग्रेसको राम्रो प्रभाव देखिएपनि दार्जीलिङ चुनाव क्षेत्रमा भने भारतीय जनता पार्टीका एसएस अहलुयालियाले बिजय हासिल गरेका छन् । उनले थोरै मतान्तरले कांग्रेसका प्रत्यासी भाइचुङ भुटियालाई हराएका छन् ।
भारतीय जनता पार्टीले गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्दै छुट्टै राज्यको नारामा साथ दिने आश्वासनले नेपालीभाषीको मत बटुल्न सकेको हो ।
उत्तर प्रदेशको अमेठीबाट कांग्रेस उपाध्यक्ष राहुल गान्धी र रायबरेली क्षेत्रबाट कांग्रेस अध्यक्ष सोनिया गान्धीले बिजय हासिल गरेका छन् । राजधानी दिल्लीका ७ वटै चुनाव क्षेत्रबाट भारतीय जनता पार्टी उम्मेद्वारले बिजय हासिल गरेका छन् । गुजरातमा पनि त्यहाँका सबै २६ वटा सिटमा भारतीय जनता पार्टी उम्मेद्वारको बिजय छाएको छ ।
भारतीय जनता पार्टी गठबन्धनको नेशनल डेमोक्रेटिक एलाइन्स(एनडीए)ले ३३३ सिट ल्याएको छ भने भारतीय कांग्रेस गठबन्धनको युनाइटेट प्रोगेसिभ एलाइन्स(युपिए)ले ६१ सिट मात्रै ल्याइएको छ । कांग्रेस आई अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीले हार स्विकार गर्दै हारको जिम्मेवारी लिएका छन् ।
बिगत दश बर्षदेखि शासनसत्तामा रहेको भारतीय कांग्रेस गठबन्धनका प्रमुख मन्त्रीहरु क्रमश: चुनाव हार्ने सूचीमा देखिएका छन् ।
कंग्रेस गठबन्धन सरकारका मन्त्री सचिन पाइलटले राजस्थानको अजमेरबाट चुनाव हारेका छन् भने सोलापुरबाट गृह मन्त्री सुशीलकुमार सिन्धेले पनि चुनाव हारेका छन् भारतीय जनता दलका प्रखर नेता र मोदी सरकारमा संभावित मन्त्री भनिएका अरुन जेट्लीले पनि पंजावबाट चुनाव हारेका छन् ।
अर्कातिर, समाजवादी पार्टीका नेता एवं उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री मुलायमसिंह यादव र भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीले पनि लोकसभा चुनावमा बिजय पाएका छन् । लोकसभामा भारी मतले बिजय बनेकोमा प्रधानमन्त्री मनमोहन सिंहलो पनि नेता नरेन्द्र मोदीलाई फोनमार्फत बधाइ ज्ञापन गरेका छन् ।
समाचार स्रोतका अनुसार प्रधानमन्त्री सिंहले शनिबार राष्ट्रपति प्रवण मुखर्जीसमक्ष आफ्नो राजिनामा प्रस्तुत गर्नेछन् । नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बुधबार बिहान राष्ट्रपतीसमक्ष सपथ ग्रहण लिने भएका छन् ।
नेता मोदीले बाराणसीमा समेत जित हात पारेका छन् । त्यहाँ प्रत्यासी रहेका कांग्रेसका अजय रायले हार खाएका छन् । भारतीय जनता पार्टी गठबन्धनको नेशनल डेमोक्रेटिक एलाइन्सले ३२० सिटभन्दा बढी सिट हात पार्ने र भारतीय कांग्रेस गठबन्धनको युनाइटेट प्रोगेसिभ एलाइन्स बढीमा १ सय सीटमा सिमित हुनुपर्ने देखिएको छ ।
आम आदमीका तर्फबाट लोकसभामा खाता खोल्ने काम पंजावको संगरुर क्षेत्रबाट भागवन्त मानले गरेका छन् ।
भारतीय जनता पार्टीबाट प्रधानमन्त्री पदका प्रत्यासी बनाइएका लोकसभा निर्वाचन-२०१४ का मुख्य आकर्षण नरेन्द्र मोदीले गुजरातको बडोदरा क्षेत्रबाट चुनाव जितेका छन् ।
मोदीले कांग्रेसका मधुसन मिस्त्रीलाई ४ लाख मतान्तरले हराएका छन् । मोदी उत्तर प्रदेशको बारणसीमा पनि ४० हजार मतले अगाडी छन् । यस्तै, बिजेपी दलबाट उत्तर प्रदेशकै सुल्तानपुरमा बरुण गान्धी र दिल्लीको चाँदनीचोकबाट डा. हर्षबर्धनले बिजय हात पारेका छन् । कांग्रेसका बरिष्ठ मन्त्री कपिल सिवलले चाँदनीचोकमा हार बेहोर्नुपरेको हो ।
राजधानी दिल्लीका सात वटै निर्वाचन र हिमान्चल, गुजरात तथा राजस्थानका सबै क्षेत्रमा भारतीय जनता पार्टीको अग्रता देखिएको छ । यसअघि बिहार, उत्तर प्रदेशमा रहेको क्षेत्रीय पार्टीहरुको अस्तित्व र प्रभाव पनि यो चुनावमा गौण देखिएको छ । बिहारमा राष्ट्रिय जनता दलकी रावडीदेवी यादव (श्रीमती लालुप्रसाद)को पनि हार निश्चित भएको छ भने बिहार मुख्य मन्त्री नितिश कुमारको जनता दल युनाइटेडको नतिजा स्थिती पनि निकै पछि परेको छ ।
यसैबीच, भारतीय जनता दलको ऐतिहासिक बिजय भएकोमा दलका अध्यक्ष राजनाथ सिंह र बरिष्ठ नेता लालकृष्ण आडवाणीले प्रधानमन्त्री प्रत्यासी नेता नरेन्द्र मोदीलाई फोन गरेर बधाइ दिएका छन् ।