
काठमाण्डु , ३० वैशाख – म्यानमारमा सोमबार एक नगर बस दुर्घटना हँुदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको समाचार छ ।
भारी वर्षाको कारण भएको सो दुर्घटनामा दर्जनाँै व्यक्ति घाइते भएको प्रहरीले मङ्गलबार जनाकारी दिएका छन । सो दुर्घटना राजधानी नाइपितव र याङ्गुन सहरबीचको राजमार्गमा सोमबार साँझ भएको छ ।
भारी वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा एक पुलबाट बस तल झरेको बताइएको छ । दुर्घटनामा चार महिलासहित १४ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।
साथै सो दुर्घटनामा परेका २९ व्यक्ति घाइते भएका छन् । ती मध्ये तीन जनाको अवस्था चिन्ताजनक भएको जनाइएको छ ।
सो बस राजधानी नाइपिदवबाट याङ्गुन सहरतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार ६ः४५ बजे दुर्घटनाग्रस्त भएको हो ।
सोही राजमार्गमा गत महिना एक कार र बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको थियो ।
उक्त नाइपिदव याङगुन राजमार्गमा सन् २००९ मा भएका सडक दुर्घटनामा कम्तीमा ३६० व्यक्तिको मृत्यु भएको थियो ।
त्यसगरी सन् २०१४ को पहिलो चार महिनामा भएका सडक दुर्घटनामा सो राजमार्गमा ५७ व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यसैगरी सो अवधीमा १४७ वटा सडक दुर्घटना भएको जनाइएको छ ।