
काठमाण्डु, २४ वैशाख– थाइल्याण्डको एक अदालतले त्यहाँकी प्रधानमन्त्री यिङलक शिनावात्रालाई पदबाट अपदस्थ गरेको छ ।
सत्ता र शक्तिको दुरुपयोग गरेर फाइदा लिएको आरोपमा त्यहाँको संवैधानिक अदालतले उनलाई पदबाट हड्न आदेश दिएको हो । संवैधानिक अदालतले जारी गरेको विज्ञप्तिमा
उनको मन्त्रिमण्डलका सदस्यालाई पनि राजीनामा दिन भनिएको छ । प्रधानमन्त्री यिङलकले राष्ट्रिय सुरक्षा मामिला प्रमुख थाविल प्लायन्सीलाई सन् २०११ मा गैरकानुनी तरवले पदबाट हटाएर आफ्नो दलका लागि लाभ लिएको भन्दै विपक्षी सांसदहरुले अदालतमा मुद्धा हालेका थिए ।
आफू सत्तामा आएको केही समयपछि शिनावात्राले विपक्षीसँग सम्बन्ध रहेको भन्दै सुरक्षा प्रमुखलाई हटाएकी थिइन् । सिनावात्रा सरकारको बर्खास्तीको माग गर्दै विपक्षीले गत नोभेम्बरदेखि आन्दोलन गर्दै आएका थिए । फैसलामा भनिएको छ, ‘सिनाबात्राको प्रधानमन्त्रीको भूमिका अन्त्य भएको छ ।
अब उनी लामो समय कामचलाउ प्रधानमन्त्रीको पदमा समेत बस्न सक्दिनन् ।’ संसद नभएकाले थाइल्याण्डमा नयाँ सरकार गठन प्रक्रिया अन्यौलमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच अदालतको आदेशको विरोधमा सत्ता पक्षका समर्थक सडकमा उत्रिएका छन् । उनीहरुले सिनावात्राको पुनर्वहाली हुनुपर्ने माग अघि सारेका छन् । राजधानी बैंककसहित मुख्य सहर र सडकहरुमा बाक्लो संख्यामा सुरक्षा तैनाथी गरिएको छ ।