थाइल्यान्डको अदालतले प्रधानमन्त्रीको बर्खास्तगीको निर्णय वुधबार सुनाउने

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते १२:५४ मा प्रकाशित

बैङकक, २३ वैशाख – थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री यिङलक सिनावात्रालाई अधिकार दुरूपयोग गरेको आरोपमा पदबाट मुक्त गर्ने विषयमा बुधबार निर्णय सुनाउने जानकारी दिएको छ । यस निर्णयले यस मुलुकलाई अझै गहन सङ्कटमा लैजाने अनुमान गरिएको छ ।

प्रधानमन्त्री सिनावात्रा मङ्गलबार अदालतमा उपस्थित भइन् र उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरीन् । उनीविरुद्ध संसदको माथिल्लो सभाका सदस्यहरूले मुद्दा दायर गरेका थिए । उनीहरूले तत्कालिन राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लिनस्रीलाई प्रधानमन्त्री सिनावात्राले सन् २०११ आ निर्वाचित भएपछि आफ्नो दलको फाइदाका लागि प्रतिस्थापन गरेको आरोप लगाएका छन् ।

अदालतका अध्यक्ष चारुन इन्टाचानले नौ सदस्यीय बेञ्चले यस मुद्दामा प्रमाणका विषयमा पर्याप्त सुनेको र अब निर्णय गर्न तयार रहेको बताए ।

उनले सुनुवाइ सम्पन्न भएको र अदालतले मे ७ को मध्यान्हमा निर्णय सुनाउने बताए ।

प्रधानमन्त्री सिनावात्रालाइ पदमुक्त गर्न चालिएका दुई कानुनी पाइलामा यो एक पाइला हो । थाइल्यान्डको राजनीतिक सङ्कट महत्वपूर्ण मोडमा उभिएको अनुमान गरिएको छ ।

सरकारविरोधी प्रदर्शनकारीहरू अझै पनि सानो सङ्ख्यामा भए पनि बैङककको सडकमा भेला भएका छन् भने यिङलकका समर्थकहरूले उनको समर्थनमा प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

अदालतमा प्रधानमन्त्री सिनावात्राले आफूले कुनै कानुन नतोडेको र यस नियुक्तिबाट कुनै फाइदा नलिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us