प्रधानमन्त्रीका लागि उम्मेदवारी परेन

काठमाण्डु टुडे २०७० माघ २५ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, २५ माघ–बहुमतीय प्रधानमन्त्री निर्वाचनका लागि मनोनयन दर्ता गराउने पहिलो दिन शनिबार कसैको पनि उम्मेदवारी परेन ।
biccनिर्वाचनन कार्यतालिकाअनुसार संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दिने समय शनिबार बिहान १० बजेदेखि आइतबार साँझ ५ बजेसम्म तोकेको छ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले शनिबार कसैले पनि उम्मेदवारी दर्ता नगरेको जानकारी दिए ।

शर्माका अनुसार संविधानसभाको पहिलो ठूलो दल कााग्रेस र दोश्रो ठूलो दल एमालेका प्रतिनिधिले उम्मेदवारी फाराम लगेका छन् । काँग्रेस सभासद आनन्दप्रसाद ढुंगाना र एमाले सभासद रामवीर मानन्धरले मनोनयन फाराम लगेका हुन् । शर्माले आइतबार साँझ साँढे ५ बजे सूची दर्ता क्रममा आधारमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताए ।

दलहरुबीच सहमतिय सरकार गठनबारे कुरा नमिलेपछि राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा–३८ (२) अनुसार बहुमतीय प्रधानमन्त्री चयन गर्न गत सोमबार आग्रह गरेका हुन् ।
व्यवस्थापिका–संसदमा बहुमतीय प्रधानमन्त्री चयनका लागि सोमबार मतदान हुने कार्यतालिका छ । अहिलेसम्म सरकार नेतृत्वमा कााग्रेसले मात्र दाबी पेश गरेको छ । उसले आफ्ना सभापति सुशील कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।
एमाले भने राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचन तथा शक्ति बाँडफाँटमा प्याकेज सहमति भए मात्र सरकार गठनमा काँग्रेसलाई सघाउने अडानमा छ ।

एकीकृत माओवादी, राप्रपा नेपाल र फोरम नेपालसहितले सरकारमा सहभागी नहुने बताइसकेका कारण बहुमतीय सरकारका लागि पनि एमालेलाई मनाउनै पर्ने बाध्यतामा काँग्रेस छ ।

सहमति प्रयासका लागि शनिबार बस्ने भनिएको दुई दलका शीर्ष नेताको बैठक समेत बस्न सकेन । उम्मेदवारी दर्ताको अन्तिम दिन आइतबार दिनभर सहमतिका लागि प्रयास गर्ने दुवै दलका नेताले बताएका छन् ।

सहमति नभए प्रधानमन्त्री निर्वाचन प्रक्रिया पछि सार्न संसदको कार्यव्यवस्था परामर्श समितिलाई आग्रह गर्नेबारे दुई दलबीच अनौपचारिक कुराकानी भएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us