काँग्रेस बहुमतीय सरकार गठनको गृहकार्यमा

काठमाण्डु टुडे २०७० माघ २० गते ७:०९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २० माघ – सहमतीय सरकार गठन गर्न नसकिने लगभग निश्चित भएपछि संविधानसभाको पहिलो ठूलो दल नेपाली काँग्रेसले बहुमतीय सरकार गठनका लागि गृहकार्य थालेको छ ।

पार्टी सभापति सुशिल कोइरालाईलाई नै उम्मेदवारको रुपमा अघि सार्दै काँग्रेसले सकेसम्म धेरै दललाई सहभागी गराएर सरकार गठन गर्ने तयारी थालेको हो ।

बहुमतीय सरकार गठनका लागि अन्य दलहरुसँग छलफल गर्नु अघि केन्द्रीय समितिले थप रणनीति तय गर्न काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

‘पार्टी सभापति कोइरालाको निवास महाराजगञ्जमा सोमबार बसेको पदाधिकारी बैठकले भोलि (मंगलबार)का लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ,’ पौडेलले भने, ‘केन्द्रीय समितिले बहुमतीय सरकार गठनबारे आधिकारीक धारण सार्वजनिक गरेपछि अन्य दलसँग छलफल थाल्छौं ।’

संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी र चौंथो राप्रपा नेपाल प्रतिपक्षमा बस्ने लगभग निश्चित भएकाले बहुमतीय सरकार गठनका लागि दोस्रो ठूलो दल नेकपा एमालेको समर्थन अनिवार्यजस्तै बनेको छ ।

३ सय १ सभासदको समर्थन जुटाउन एमालेको साथ जरुरी भएपनि शक्ति बाँडफाँडमा कुरा मिलेको छैन । आफूले भनेजस्तो नभए सरकारमा नै नजाने एमाले अडानका कारण बहुमतीय सरकार गठन गर्नपनि काँग्रेसलाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us