अख्तियार ८२ झोले विद्यालयको छानबिनमा

काठमाण्डु टुडे २०७० माघ २० गते ६:०६ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogमहोत्तरी, २० माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले महोत्तरी जिल्लामा अनियमितता प्रकरणमा मुछिएका ८२ विद्यालयका सरोकारवालासँग बयान लिने काम सुरु गरेको छ ।

झोलामा विद्यालय सञ्चालन गर्नेदेखि लिएर अन्य आर्थिक अनियमिततामा मुछिएको आशङ्का गरिएका ८२ विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारीसहित अन्य सम्बद्ध पक्षसँग बयान लिने काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आयोगका अनुसन्धान अधिकृत तीर्थराज केसी नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले जिल्ला सदरमुकाम जलेश्वरमै सम्बद्ध पक्षसँग बयान लिने काम सुरु गरेको छ ।

आइतबार सुरु भएको बयानको क्रम सकिनासाथै अन्य कारबाही प्रक्रिया अघि बढाउने तयारी रहेको टोली नेतालाई उद्धृत गर्दै प्रजिअ रामप्रसाद थपलियाले बताए ।
जिल्लामा झोले विद्यालय सञ्चालन हुँदै आएका र अन्य कयौँ आर्थिक अनियमितता विद्यालयमा ह्वात्तै बढेको व्यापक जनगुनासो बढेपछि आयोगले गत पुस महिनाको अन्तिम साता त्यसबारे पहिलो चरणको स्थलगत अनुगमन गरेको थियो ।

अहिले पहिलो चरणको अनुगमनमा भेटिएका प्रारम्भिक सूचनाका आधारमा ८२ वटा विभिन्न तहका विद्यालयको आर्थिक हरहिसाब र अन्य गतिविधिबारे सम्बन्धित पक्षसँग बयान लिने काम भइरहेको प्रजिअ थपलियाको भनाइ छ ।

जिल्लामा कार्यरत धेरैजसो शिक्षक स्थानीय नै भएका र विद्यालय व्यवस्थापन समितिको निर्वाचनदेखि शिक्षक पदपूर्ति गर्नेसम्मका काममा उनीहरुको व्यक्तिगत स्वार्थ जोडिने गर्दा गोलमाल बढी हुने गरेको शिक्षाविद्हरुको टिप्पणी छ ।

आयोगले सुरु गरेको अनुसन्धान प्रक्रियाले गति लिए विगतदेखि हुँदै आएका अनियमितता कम हुने आम जिल्लावासीले आशा गरेका छन् ।

यसअघि पहिलो चरणको अनुगमन सकिनासाथै सो टोलीले अनियमितताको शङ्काको घेरामा रहेका ८२ विद्यालयको खाता त्यतिखेरै रोक्का गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us