
काठमाण्डु, ५ असोज– लण्डनस्थित हेथ्रो विमानस्थलमा योग गुरु रामदेवलाई आठ घण्टा बन्दी बनाइ छाडिएको छ ।
बेलायती विमानस्थल अधिकारीहरुले योग गुरु रामदेवलाई आठ घण्टा बन्दी बनाएर शनिबार मुक्त गरेका हुन् । रामदेव पतञ्जली योगपीठले स्वामी विवेकानन्दको एक सय २० औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लण्डन पुगेका थिए । भ्रमण भिसामा बेलायत पुगेका रामदेवलाई बेलायती अधिकारीले बिजनेस भिसा प्रयोग गर्नुपर्ने बताएका थिए ।
साथै उनले बोकेका केही औषधिका बारेमा सोधपुछ गरेपछि मात्र बेलायती अधिकारीहरुले उनलाई रिहा गरेका थिए । रामदेवका प्रवक्ता एस के तेजरवालाले यस घटनाले एक सय २५ करोड भारतीय जनताको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिएका छन् । बाबा रामदेवले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । योग शिविर सञ्चालनका लागि रामदेव यसअघि थुप्रैपटक बेलायत पुगिसकेका छन् ।