कपाल फुले,फुलेन श्रमिकको जीवन

काठमाण्डु टुडे २०७० साउन २४ गते ७:०२ मा प्रकाशित

उमेर ढल्कदै गएको छ । जवानी बनस्पति बिभागको उडयान शाखामा बिताएकी सीता थापाका कपाल फुल्न थालेका छन । २६ बर्षदेखि उडयान शाखामा अस्थायी करारमा कार्यरत थापा भन्छिन ‘काम गर्न नसकिने भइसकियो,महंगी बढेको बढयै छ।’ दैनिक ८० रुपैया ज्यालादारीमा काम गर्न थालेकी थापा अहिले मासिक ६ हजार तीनसय पाउँछिन ।
उनी भन्छिन ‘एक सिलिण्डर ग्यासको मूल्य हाकिम र हामीले एउटै मूल्यमा किन्नुपर्छ । अरुको तलव भत्ता बढछ,हाम्रो केहि बढदैन ।’ ज्यालादारी,अस्थायी र करार सेवामा काम गरिसकेकी कार्यालय सहयोगी थापा प्रधानमन्त्री कार्यालय,अर्थमन्त्रालय र उर्जा मन्त्रालयमा काम गर्ने आफू जस्तै श्रमिकले पाउने कपडा भत्ता,दशैभत्ता पाएको झल्झली सम्झिन्छिन । सिराहाको लाहानबाट काठमाडौको कालिमाटीमा बस्दै आएकी थापाका पनि बाल बच्चा छन,उनीहरुको लालनपालन र शिक्षा दिक्षामा उनको पनि जिम्मेवारी छ । ‘पाएको ज्याला वा तलवले गाडीभाडा र खाजा खर्च पनि पुग्दैन’उनी भन्छिन ‘राज्यले नै हामीलाई बिभेद गरयो ।’ थापाको जस्तै गरी सरकारी सेवामा तीन दशक बिताएर कपाल फुलाइ रित्तो हात घर फर्कनेहरु पनि छन । उनीहरु भन्छन ‘नङग्रा खिइए,कपाल फुले तर फुलेन हाम्रो जीवन,खुलेन हाम्रो मुहार ।’
थापाको जस्तै अवस्थामा मुलुकभर करीव २२ हजार श्रमिक अस्थायी,करार र ज्यालादारीमा सरकारी सेवामा कार्यरत छन । ‘शक्तिमा ठूला मान्छे हुनेहरु पहिले नै स्थायी भए,हाम्रा कोही भएनन । त्यसैले हामी जहाँको त्यहि छौ’थापा भन्छिन ‘पहिला पनि संघर्ष गरे स्थायी भइन्छ भनेर संघर्षमा हामीलाई पनि होमे,आफू स्थायी भएपछि हाम्रो वास्तै गरेनन ।’ अहिले पनि उनीहरु नेपाल राष्ट्रिय कर्मचारी महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघसँगको समन्वयमा अखिल नेपाल सरकारी अस्थायी,करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघमा आबद्ध भएर संघर्षमा होमिएका छन । सामान्य प्रशासन र अर्थमन्त्रालयमा धर्ना र नम्बर प्लेट रातो भएका सवारी साधन सञ्चालनमा रोक लगाउने जस्ता संघर्ष गरिसकेकाछन । उनीहरु तेस्रो चरणको संघर्षको तयारीमा छन ।
स्थायी हुनु पर्ने,अरु कर्मचारी सरह पोशाक भत्ता,चाडपर्व खर्च,बिमा,सञ्चयकोष, ग्रेड र रोजगारीको ग्यारेन्टी गरिनु पर्ने,आफूहरु माथिको विभेद अन्त्य गरिनु पर्ने जस्ता उनीहरुका माग छन । उनीहरुका केहि राजनीतिक प्रकृतिका माग पनि छन । संबिधानसभाको दोस्रो निर्वाचनमा आफू रहेकै स्थानबाट मतदान गर्न पाउनु पर्ने,आधिकारिक ट्रेड यूनियनको चुनाव र निजामती सेवा दिवसमा सहभागी गराइनु पर्ने उनीहरुका माग छन ।
आफना मागको सुनुवाई गराउन उनीहरुले सरकारी निकायको ध्यानाकर्षण गराए । एकीकृत माओवादी,नेपाली काँग्रेस,नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतालाई भेटेर आफना माग सुनाए । उनीहरुका समाचार ब्ल्याक आउट गर्ने सञ्चारमाध्यमलाई पनि आफना आवाज उठाइदिन अनुरोध गरे । र उनीहरुका आवाज कसैले सुनिदिएनन । ‘के हामी नेपाली नागरिक नै होइनौ? किन सुनिदैन हाम्रा आवाज ?’ एक श्रमिकले भने ‘शान्तिपूर्ण संघर्ष गर्दा हाम्रो आवाज नसुन्ने नै हो भने हामीले फरक प्रकृतिको संघर्ष थाल्नु पर्ने नै हो त ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us