कोरोनाले एउटै घरमा चार जनाको काल !

काठमाण्डु टुडे २०७७ भदौ ३१ गते ८:३१ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– हाम्रो बीचमा आइनसकेको,तर आएमा प्रलय हुने धुमिल चित्र तयार भएको छ । एउटै परिवारका चार जना कोही पाटन त कोही ह्याम्स हस्पिटलमा कोभिड–१९ को कारण मृत्युको मुखमा पुगेका छन् ।
नोबेल हस्पिटल, सिनामङ्गलमा भर्ना भएका एक जना संक्रमितलाई एक घण्टामा पन्ध्र लिटरको दरले अक्सिजन दिनुपरेको छ । कोरोनाको कारण आइसियुमा जाने बिरामीलाई सरकारले दिने अधिकतम सहयोग पन्ध्र हजार मात्रै हो तर नेपाल चिकित्सक संघका प्रवक्ता तथा चिकित्सा क्षेत्रको नियामक निकाय मेडिकल काउन्सिलका निर्वाचित सदस्य डा.विश्वराज दवाडीका अनुसार १६ दिनसम्म कोरोना पीडितलाई भेन्टिलेटरमा राख्नुप-यो भने ४२ लाखसम्म खर्च हुन्छ र बिरामी सितिमिति फर्केर आउने सम्भावना पनि रहन्न ।

स्वास्थ्य सेवा बिभागका चिकित्सक प्रकाश बुढाथोकीको दावी छ– भेन्टिलेटरबाट कोभिडका बिरामी बाँचेर फर्किने गुञ्जायस एक प्रतिशतमात्रै हुन्छ । यसैलाई थप्दै नेपाल मेडिकल संघका अध्यक्ष डा.लोचन कार्की भन्छन्– ती बिरामी बाँचेर फर्किए पनि फोक्सोको स्थायी रोगी बन्ने खतरा हुन्छ । फोक्सोमा निमोनिया भएपछि जीवनभर अक्सिजन लिनुको विकल्प छैन । यो स्थिति नेपालमा आइसकेको त छैन,तर संक्रमण दरको बृद्धि, लक्षणमा देखिएको परिवर्तन र उपलब्ध स्वास्थ्य जनशक्ति तथा उपकरणका दृष्टिले नेपाल त्यो स्थितिमा नपुग्ला भन्न सकिन्न ।
अघिल्लो चार महिनाको कोरोनाको लक्षणभन्दा दोस्रो लकडाउन यताको लक्षण कडा छ । संक्रमण न्युनिकरणका लागि सहज हुने रेमडिसिभर क्याप्सुलको नेपालमा अभाव थियो । भर्खरै भारतको ब्ल्याक मार्केटबाट प्रतिएम्पुल ६० हजारका दरले काठमाडौंका लागि त आयात भयो । तर,त्यही क्याप्सुल काठमाडौं बाहिर पुग्न सकेको छैन । केही स्वास्थ्यकर्मीले विराटनगरलगायतका शहरी भेगमा पठाएका छन् तर पर्याप्त छैन ।
यसकारण हातमुख सफा राख्ने, भौतिक दूरी कायम राख्नेलगायतका सुरक्षा विधिमात्रै कोभिडबाट जोगिने उपाय भएको डा.दवाडीले बताएका छन् । नत्र, निम्न तथा मध्यम आयस्तरका जनता स्वास्थ्योपचार गर्न समर्थ नहुने स्थिति छ । नेपालमा क्रिटिकल केयरको ज्ञान हासिल गरेका आठ–दश जना चिकित्सक छन् । तर,तिनीहरु पनि एक जना कोभिड– १९ बाट संक्रमित छन् । त्यसैले चिकित्सक जनशक्तिको अभाव देखा पर्दैछ ।
माल्दिभ्सले मासिक पाँच लाख तलव दिएर ७ सय नेपाली चिकित्सक ओसारिसक्यो भने कतारले भर्खरै नेपाली डाक्टरको निम्ति बाटो खुल्ला गरेको स्थिति छ । दिनमा तीन सय मानिस आइसियुमा जाने अवस्था आयो भने नेपालमा कोभिड नियन्त्रणबाहिर जाने खतरा रहेको डा.दवाडी बताउँछन् ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us