
काठमाण्डु, २ पुस– युवा कवि सरिता तिवारीलाई एउटै डर छ– कतै पपुलिस्ट कवि भइने त होइन ? दुई महिनाको फरकमा काठमाण्डुमा दोस्रो पटक कविता वाचन गर्न चितवनबाट आएकी कवि तिवारीले भनिन्, ‘म पपुलर हुनलाई लेख्ने मान्छे चाहिँ होइन ।’
‘कविता भनेको आफ्नो आग्रह लेख्नु हो, जब कविता व्यक्ति चिन्तनदेखि उठेर सामाजिक बन्दछ तब त्यसले सामाजिक र राजनीतिक चिन्तालाई सम्बोधन गर्दछ,’ तिवारीले भनिन्, ‘मेरा कविता पनि राजनीतिक प्रकृतिका छन् ।’
तिवारी चितवनमा बसेर साहित्य साधना गर्दै आएकी छिन् । पछिल्लो समयमा सञ्चारमाध्यम र सार्वजनिक मञ्चहरुमा सशक्त कवितासहित हस्तक्षेप गरिरहेकी तिवारीले आफू महिला मुक्तिसँग सम्बन्धित लेखनमा क्रियाशील भएका कारण पनि सञ्चारमाध्यमहरुले स्थान दिएको बताउँछिन् ।
‘महिलालाई जति राम्रो लेखे पनि कम विश्वास गर्ने प्रचलन छ,’ उनले भनिन्, ‘अझ वामपन्थी धारमा लेख्नेहरुले मञ्च पाउनु पनि धेरै गाह्रो कुरा हो ।’
उनका केही साथीहरुले गैरवामपन्थी मञ्चहरुमा कविता वाचन गरेकोमा आफ्नो आलोचना गर्ने गरेको उल्लेख गर्दै सरिताले भनिन्, ‘मञ्चको प्रयोगमा म धेरै संकीर्ण छैन, मेरा कविताले मेरा विरोधीहरुसँग पनि संवाद गर्नुपर्छ भन्ने म चाहन्छु ।’
उनका यसअघि दुई कविता संग्रह प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकामा फुटकर रुपमा पनि उनी लेखिरहेकी छिन् । प्रगतिशील लेखक संघ चितवनकी अध्यक्ष समेत रहेकी तिवारीको मंगलबार सर्वनाम थिएटरमा कवि तथा गीतकार रमण घिमिरेसँगै कविता वाचन कार्यक्रम थियो । कार्यक्रममा तिवारीले र घिमिरेले १०÷१० वटा कविता सुनाएका थिए ।
घिमिरेले प्रेम सन्दर्भका केही गीत र कविता सुनाएका थिए । उनले ‘आमा’, ‘आजभोलि देश दुख्दैन’ लगायतका कविता सुनाए भने तिवारीले ‘फूलको कारोबार’, ‘झण्डा’, ‘बजारविरुद्ध कविता’, ‘आदिवासी’, ‘दैनिकी’ लगायतका कविता वाचन गरेकी थिइन् ।
‘हामी’ शीर्षकमा सर्वनाम थिएटरले हरेक महिनाको पहिलो दिन कविता वाचन कार्यक्रम गर्दछ । ‘हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं’ भन्ने कार्यक्रमको नारासहितको यस कार्यक्रम लुनकरण गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले संयुक्त रुपमा आयोजना गर्छन् ।