बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाण्डु टुडे २०८२ असार ४ गते २२:०९ मा प्रकाशित

काठमाण्डू, ४ असार– सर्लाहीको बागमतीका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

अख्तियारले २०८२ जेठ ३ गते बागमतीका निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो ।

निलम्बित मेयर थापाविरुद्ध अख्तियारले विशेषमा दायर गरेको यो तेस्रो मुद्दा थियो । उक्त मुद्दामा विशेषले गरेको म्याद तामेलीपछि थापा बुधबार अदालतमा उपस्थित भएका थिए ।

थुनछेक बहसपछि विशेषले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो । उनीविरुद्ध योसहित अन्य दुई मुद्दा विशेषमा विचाराधीन अवस्थामा छन् ।

थापाविरुद्ध जिल्ला अदालत सर्लाहीमा पनि वन मुद्दा दायर भएकोमा सोमबार जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us