
काठमाण्डू, २६ जेठ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ ।
स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ३ सय २१ रनमै समेटिएको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन, सोमपाल कामीले ६७ रन र दीपेन्द्रसिंह ऐरीले ५६ रनको योगदान गरे ।
स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिएका थिए । यस्तै सफियान शरीफ र माइकल लीस्क तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो ।
स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले १०२ रन बनाए भने माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रनको योगदान दिएका थिए । नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए । ललित राजवंशीले एक विकेट लिएका थिए ।
यस जितसँगै स्कटल्यान्ड २४ अङ्कसहित लिग–२ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । नेपाल भने १५ खेलमा १० अङ्कसहित सातौं स्थानमा यथावत छ । लिग–२ तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।
नेपालले लिग–२ अन्तर्गत स्कटल्यान्डसँग पहिलो खेलमा एक विकेटले जित हासिल गरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो ।
अब, नेपालले मंगलबार नेदरल्यान्ड्ससँग चौथो र अन्तिम खेल खेल्नेछ । लिग–२ को शीर्ष चारमा पर्ने टोलीहरूले विश्वकप ग्लोबल छनोटमा सीधै स्थान पाउनेछन् ।