
काठमाण्डू, २६ जेठ– छिमेकी देश भारतको मुम्बईस्थित ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेसन नजिकै गुडिरहेको ट्रेनबाट १० जना यात्रु खसेका छन् ।
गुडिरहेको रेलबाट यात्रु खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएको भारतीय सञ्चारमाध्यम हरुले जनाएका छन । सोमबार बिहान ९ः२० बजेको समयमा कसरा-एएसएमटीको द्रुत लोकल ट्रेनबाट ती यात्रुहरू खसेको मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज नीलाले जनाएका छन ।
लोकल ट्रेनका गार्डलाई उदृत गर्दै उनले भने, ‘ठाणेको मुम्ब्रा र दिवा बीचको लोकल ट्रेनमा यात्रा गरिरहेका यात्रुहरू दुर्घटनामा परेका हुन् । सबै घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।’
सीपीआरओ स्वप्निलका अनुसार मुम्ब्रा र दिवा रेलवे स्टेसनहरू बीचको डाउनरफास्ट लाइनमा दुर्घटना भएको थियो । उनका अनुसार एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको थियो ।
दुवै रेलका केही यात्रुहरू फुटबोर्डमा उभिरहेका थिए । ती दुई रेल क्रस हुँदा यात्रुहरू एकआपसमा ठोक्किर रेलबाट तल खसे । सीपीआरओले यो टक्कर नभएको तर विपरीत दिशामा गइरहेका दुई रेलको फुटबोर्डमा यात्रा गरिरहेका यात्रुहरू एकअर्कासँग अल्झिएर दुर्घटना भएको स्पष्ट पारेका छन् ।