पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १६:४७ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– आज बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसमा सांसदहरूले छलफल गरी प्रश्न गरेका थिए । मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने पनि बताए ।

कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने पनि बताएका छन । अध्ययन मात्रै गर्ने भएकाले आन्तरिक र बाह्य रूपमा पहुँच अभिवृद्धि गर्न धेरै बजेट माग नगरिएको पनि बताएका छन । मन्त्री दाहालले जवाफ दिइसकेपछि पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव गरे ।

जसलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरे । बहुमत सांसदहरूको समर्थनसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us