काठमाण्डू, १७ असार– झुम्का कारागारबाट फरार रहेका एक कैदीबन्दी चोरीको कारसहित सप्तरीबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती निवासी २४ वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाख्रिन रहेको प्रहरीले जानकारी दिएको छ ।
सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित एक होटल अगाडि बा–८च ९४३० नम्बरको कार रोकी राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शंका लागेपछि गाडीको कागजात तथा चालक अनुमतिपत्र माग्दा उनले कुनै पनि कागजात पेस गर्न सकेनन् । त्यसपछि यातायात कार्यालयबाट गाडीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर नमिलेको भेटिएकाले उक्त सवारी चोरीको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाख्रिनविरुद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि झुम्का कारागार पठाइने तयारी गरिएको छ ।
पाख्रिन लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला गत २४ भदौमा झुम्का कारागारबाट फरार भएका थिए । सप्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका पाख्रिनको अझै १७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ ।