गयो दीपक मनाङेको सांसद पद्

काठमाण्डु टुडे २०८२ असार ४ गते २२:३४ मा प्रकाशित

काठमाण्डू, ४ असार– गुण्डागर्दी पृष्ठभूमिका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री गुरुङ उर्फ दीपक मनाङे पदमुक्त भएका छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र कुमार चुडालको संवैधानिक इजलासले मनाङेको सांसद पद नरहने फैसला गरेको हो ।

१३ वैशाख २०६१ मा अर्का गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङमाथि महाराजगञ्जस्थित एक रेष्टुरेन्टमा मनाङे समूहले खुँडा प्रहार गरेको थियो । त्यस क्रममा गुरुङको देव्रे हात नै छिनेको थियो ।

सो कसुरमा १३ वैशाख २०६२ पक्राउ परेका मनाङेलाई जिल्ला अदालत काठमाण्डूले अंगभंग गराएको अभियोगमा दुई वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । उनी दुई वर्ष कैद भुक्तानी गरेर छुटेका हुन् ।

अदालतले बुधबारदेखि लागू हुने गरी उनलाई फौजदारी कसुरमा दोषी ठहर गर्दै पदमुक्त मात्र गरेको छैन, आगामी निर्वाचनमा उम्मेदवार बन्न समेत अयोग्य हुने फैसला गरेको छ ।

अधिवक्ता वीरेन्द्रराज कार्कीले कैद सजाय बाँकी नरहेको भनी झुटो विवरण बुझाएर निर्वाचित भएकाले मनाङेको सांसद पद निर्वाचित भएकै मितिबाट खारेज गर्न माग दाबी गर्दै ११ पुस २०७९ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । मनाङेले उम्मेदवारी दर्ता गर्ने क्रममा आफूले कैद सजाय भोग्न बाँकी नभएको गलत विवरण पेस बुझाएका थिए ।

मनाङे गत निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।
तत्कालीन पुनरावेदन अदालत पाटनले २८ साउन, २०६९ मा जिल्ला अदालतको फैसला उल्ट्याउँदै ५ वर्षको कैद सजाय तोके पनि उनी पक्राउ परेनन् ।

एकाएक ०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट मनाङ (ख) मा उम्मेदवार बने र चुनाव जिते पनि । उनको पद गएसँगै अब उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us