काठमाण्डू, ३२ असार– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज राति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा बोकेको ब्यानरले नयाँ विवाद निम्त्याएको छ । फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास अर्जेन्टिनाकै हुन्’ लेखिएको ब्यानर देखाएका थिए । उक्त सन्देशपछि दक्षिण एट्लान्टिकस्थित विवादित फकल्याण्ड (माल्भिनास) टापुमाथिको अर्जेन्टिनाको दाबीलाई पुनः उजागर गरेको छ।
यससँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाको राजनीतिक प्रदर्शनसम्बन्धी नियममाथि पनि प्रश्न समेत उठेको छ । सेमिफाइनलमा इंग्ल्याण्डमाथि २–१ को जितपछि खेलाडीहरूले समर्थकहरूसँग खुसी साट्दै उक्त ब्यानर प्रदर्शन गरेका थिए । लिसान्ड्रो मार्टिनेज र जियोभानी लो सेल्सो खुसी हुँदै ब्यानर समातेर स्ट्यान्डतर्फ हात हल्लाइरहेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। ब्यानर उनीहरूको हातमा कसरी पुग्यो भन्ने विषय भने अझै स्पष्ट भएको छैन ।
फिफाको रंगशाला आचारसंहिता अनुसार रंगशालाभित्र राजनीतिक, आपत्तिजनक वा भेदभावपूर्ण प्रकृतिका ब्यानर, झण्डा, फ्लायर, पोशाक वा अन्य सामग्री प्रदर्शन गर्न निषेध गरिएको छ। त्यसैले अर्जेन्टिनाका खेलाडीहरूको यो कदम फिफा नियमको उल्लङ्घन भएको हो वा होइन भन्ने विषयमा बहस सुरु भएको छ। फिफाले यसबारे भने कुनै आधिकारिक टिप्पणी दिएको छैन।
पुरानो सार्वभौमिकता विवाद फेरि चर्चामा
फकल्याण्ड (अर्जेन्टिनामा माल्भिनास) टापुहरूलाई लिएर बेलायत र अर्जेन्टिनाबीच दशकौँदेखि सार्वभौमिकताको विवाद कायम छ। सन् १९८२ मा दुवै देशबीच टापुको नियन्त्रणका लागि युद्ध भएको थियो ।
जसमा ६४९ अर्जेन्टिनी र २५५ ब्रिटिश सैनिक मारिएका थिए। पछि बेलायतले टापुमाथिको आफ्नो नियन्त्रण कायम राख्यो । टापुका अधिकांश बासिन्दाले बेलायतकै हिस्सा रहन चाहेको मत व्यक्त गर्दै आएका छन् ।
तर अर्जेन्टिनाले भने सन् १८१६ मा स्वतन्त्र भएपछि स्पेनबाट ती टापुहरू आफ्नो अधिकारमा आएको र बेलायतले सन् १८३३ मा अवैध औपनिवेशिक हस्तक्षेपमार्फत नियन्त्रण लिएको दाबी गर्दै आएको छ ।
विश्वकपको क्रममा राजनीतिक सन्देशले विवाद सिर्जना गरेको यो पहिलो घटना भने होइन। गत महिना लस एन्जलसमा इरानको खेलका क्रममा इरानी–अमेरिकी समर्थकहरूले तेहरान सरकारविरुद्धको विरोध जनाउँदै पूर्व–क्रान्तिकारी इरानी झण्डा प्रदर्शन गरेका थिए । यद्यपि ती खेलहरू कुनै सुरक्षा वा अनुशासनात्मक घटनाबिना सम्पन्न भएका थिए ।