प्रहरीले गरेको दुर्व्यवहार र यातनाविरुद्ध कानुनी लडाइँ लड्छुः माजिद अन्सारी

काठमाण्डु टुडे २०८३ असार ३२ गते १७:०३ मा प्रकाशित

काठमाण्डू, ३२ असार– जेनजी अभियन्ता माजिद अन्सारीले जेठ २७ गते कीर्तिपुर होल्डिङ सेन्टर पुगेका बेला एक गैरनिर्वाचित व्यक्तिको आदेशमा प्रहरीले चारैतिरबाट घेरा हालेर अमर्यादित व्यवहार गरेको बताएका छन ।

उनले करिब १०–१२ जना प्रहरीले क्यामेराले नदेख्ने स्थानमा लगेर लछारपछार गर्दै कुटपिट गरेको, जसका कारण आफू गम्भीर घाइते भएको समेत बताएका छन । अस्पतालबाट डिस्चार्च भएपछि उनले बिहीबार सामाजिक सञ्जाल मार्फत त्रिवि शिक्षण अस्पतालमा पनि गृह मन्त्रालय र नेपाल प्रहरीको प्रत्यक्ष निगरानीमा आफ्नो मेडिकल हिस्ट्रीमा ‘प्रहरी आक्रमण’ भन्ने शब्दसमेत लेख्न नदिने प्रयास गरिएको समेत बताए ।

उनले उपचार भइरहेका बेला सादा पोशाकका प्रहरी अस्पतालको क्याबिनमै आएर आफूलाई ‘तपाईं हाम्रो बन्दी हो’ भन्दै तत्काल जमानी कागजमा हस्ताक्षर गर्न दबाब दिएको तथा नमाने ‘अभद्र व्यवहार’ मुद्दा चलाउने धम्की दिएको बताएका छन् । यस अवधिमा उनले करिब तीनदेखि चार दिनसम्म शारीरिक तथा मानसिक यातना भोग्नुपरेको बताएका छन् ।

अन्सारीले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि सार्वजनिक रूपमा उपस्थित हुने र आफूमाथि भएको प्रहरी दुर्व्यवहार तथा यातनाविरुद्ध कानुनी लडाइँ लड्ने घोषणा समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us