काठमाण्डू, ३२ असार– ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार वि.सं. २०८३ असार १५ गते सम्पन्न भएको प्रत्यारोपणपछि दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उपचार सफल भएपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अस्पतालले यस घटनालाई आधुनिक चिकित्सा विज्ञानसँगै पारिवारिक प्रेम, त्याग र समर्पणको प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरेको छ।
यस सफलतासँगै किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी स्वास्थ्य क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गर्दै नेपालको प्रत्यारोपण सेवामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली, अनुभवी प्रत्यारोपण विशेषज्ञहरूको टोली तथा बहुविशेषज्ञीय उपचार प्रणालीका कारण अस्पताल प्रत्यारोपण सेवामा विश्वासिलो गन्तव्यका रूपमा स्थापित हुँदै गएको अस्पतालको भनाइ छ।
किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा। अभिषेक थापाले यस सफल प्रत्यारोपणले नेपालमै विश्वस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउन सकिने तथ्यलाई पुनः प्रमाणित गरेको बताए। उनले भने, ‘छोरीले आफ्नो बाबुलाई कलेजो दान गरेर नयाँ जीवन दिएको यो घटना केवल चिकित्सकीय सफलता मात्र होइन, मानवता, प्रेम र त्यागको अनुपम उदाहरण पनि हो। किस्ट शिक्षण अस्पताल अत्याधुनिक प्रविधि, दक्ष विशेषज्ञ र समर्पित स्वास्थ्यकर्मीको माध्यमबाट नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रत्यारोपण सेवा प्रदान गर्न प्रतिबद्ध छ। आगामी दिनमा अझ धेरै बिरामीलाई स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउने हाम्रो लक्ष्य छ।’
अस्पताल व्यवस्थापनले यस सफल प्रत्यारोपणमा संलग्न प्रत्यारोपण विशेषज्ञ, बेहोस पार्ने चिकित्सक, नर्सिङ टोली, सघन उपचार कक्ष, प्रयोगशाला, रक्त बैंक तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेको छ। साथै, आफ्नो जीवनको अमूल्य अंश दान गरेर बाबुलाई नयाँ जीवन दिने छोरीको साहस, प्रेम र मानवताप्रतिको समर्पण सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरेको छ।
किस्ट शिक्षण अस्पतालले भविष्यमा पनि अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ तथा विश्वस्तरीय उपचार सेवामार्फत नेपालमै सुरक्षित, गुणस्तरीय र सहज पहुँचयोग्य कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्दै स्वास्थ्य सेवामा उत्कृष्टताको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।