इंग्ल्यान्डका पूर्व मिडफिल्डर कोलले ‘मेसीलाई सुताइदिनुपर्छ’ भनेपछि…

काठमाण्डु टुडे २०८३ असार ३० गते १५:५० मा प्रकाशित

काठमाण्डू, ३० असार– जारी फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुने तयारीसँगै दुवै देशबीचको ऐतिहासिक फुटबल प्रतिस्पर्धाको फेरि एकाएक चर्चा चुलीएको छ ।

बुधबार मध्यरातमा हुने यो खेल लियोनल मेसीको करिअरमै इंग्ल्यान्डविरुद्धको पहिलो खेल समेत हुने छ । यससँगै सन् १९८२ को फकल्यान्ड युद्ध, सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र अर्को ऐतिहासिक एकल गोल, तथा सन् १९९८ मा डेभिड बेकह्याम रातो कार्ड पाएर मैदानबाट बाहिरिएको घटना फेरि स्मरण गरिएको छ ।

यद्यपि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले खेललाई सामान्य रूपमा लिन समेत अनुरोध गरेका छन । ‘यो केवल एउटा फुटबल खेल हो,’ उनले स्विट्जरल्यान्डलाई पराजित गरेपछि भने ।

‘मेसीलाई सुताइदिनुपर्छ’ भन्ने टिप्पणीले विवाद

खेलअघि इंग्ल्यान्डका पूर्व मिडफिल्डर जो कोलको टिप्पणीले पनि चर्चा चुलिएको छ। ग्यारी लाइनेकर र मिका रिचर्ड्ससँगको कार्यक्रममा उनले भने, ‘मेसीलाई सुताइदिनुपर्छ।’

त्यसपछि मिका रिचर्ड्सले तुरुन्तै प्रतिक्रिया दिँदै भने, ‘त्यस्तो नभन्नू।’ तर कोलले आफ्नो भनाइ दोहोर्याउँदै भने, ‘हो, म अहिले नै भन्छु। हामी विश्वकपको फाइनलमा पुग्छौँ। हामी अर्जेन्टिनालाई हराउँछौँ। मलाई भित्रैदेखि त्यस्तै महसुस भइरहेको छ।’

जे भए पनि यो खेल मेसीको अन्तिम विश्वकप खेल भने हुने छैन। अर्जेन्टिना जिते फाइनल र हारे तेस्रो स्थानको खेल खेल्ने भएकाले उनले प्रतियोगितामा कम्तीमा एक खेल अझै खेल्नेछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us