काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चार माध्यमका गेट र नेताका निवास अगाडि पाडी पार्किङ गर्ने रास्वपा नेता कार्यकर्तामाथि कारबाही हुने बताएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दैै लामिछानेले गाडी रोकेर सञ्चार कर्ममा अवरोध पु¥याउनेमाथि कुनै प्रकारको संरक्षण नहुने बताए । सञ्चारकर्मीको प्रश्नको जवाफमा लामिछानेले गल्ती गर्ने सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको पुरानो दृष्टान्त सुनाए ।
उनको संकेत तत्कालीन सांसद् ढाकाकुमार श्रेष्ठतर्फ थियो । घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले सांसदबाट निलम्बन गरेको थियो ।
‘रास्वपा त्यो पार्टी हो उसले ७२ घन्टाभित्र सांसदलाई कारबाही गरेको थियो’ लामिछानेले भने, ‘जो भए पनि कारबाही हुन्छ ।’
सोमबार कान्तिपुर मिडिया ग्रुपको तीनकुने, अनलाइन खबरडटकमको बुद्धनगर र हिमालय टिभीको मध्यबानेश्वरस्थित कार्यालय, गगन थापाको निवास र भाटभटेनी सुपरमार्केट अगाडि एकै समयमा शंकास्पद गाडीहरु पार्किङ गरिएका थिए ।
ती गाडी रास्वपा समर्थक र नेता कार्यकर्ताको रहेको खुलेको थियो । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले यसअघि सोमबारै विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका थिए ।
उनले उक्त कार्यमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गरेका थिए । लामिछानेले उक्त कार्यलाई अस्वभाविक भनेका छन् ।