सरकारको विरोध गरेको भन्दै ऐन महरलाई गोली हान्ने धम्की

काठमाण्डु टुडे २०८३ असार ३० गते १७:४२ मा प्रकाशित

काठमाण्डू– एमाले प्रमुख सचेतक ऐन महरले आफूलाई गोली हानेर ज्यान मार्ने धम्की आएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले गोली हान्ने धम्की आएको बताए ।

सरकारको आलोचना गरेको मन नपराएकाहरूले गोली हान्ने धम्की दिएको उनको भनाइ थियो ।

आफूहरु पनि जनअभिमत लिएर्रै सदनमा भएको र निरपेक्ष रुपमा विरोध नभई गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने स्ष्ट गरे । तर, सरकारलाई सही बाटो देखाउन खोज्दा ज्यान मार्ने धम्की आउनु बिडम्बनापूर्ण रहेको उनको भनाइ थियो ।

‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौं, जनताका कुरा बोल्न । हामी निरपेक्ष रूपमा विरोध गर्दैनौं, हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं’, उनले भने, ‘सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं । तर बिडम्बना सदनमा बोलिरहँदा सरकारको विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ । मलाई निरन्तर धम्की आइरहेको छ, फेसबुक र फोन । गोली हान्दिन्छु, मार्दिन्छु भनेका छन् ।’
आफ्नो फेसबुक पोष्टमा कमेन्ट गरेका दुई जनाले परिचय खुलाएर गोली हान्ने धम्की दिएको पनि महरले बताए ।

राम पराजुली र पूर्णविक्रम क्षेत्री नाम गरेका व्यक्तिले आफूलाई गोली हान्ने धम्की दिएको उनले उल्लेख गरे ।

‘भर्खरैमात्र दुई जनाले स्टाटसमा कमेन्ट गर्नुभएको छ र ऐन महर आम्मा कसम तलाईं म गोली हानेर मार्छु’ भनेर आफ्नो नाम दिनुभएको छ । आफ्नो ठेगाना पनि दिनुभएको छ । नाम पराजुली राम भन्ने आइडीबाट आएको छ,’ उनले भने, ‘आफू चाहि काठमाडौं बौद्ध–६ महांकाल चोक संगम टोल बस्ने भन्नुभएको छ । यो कुरा म सदनलाई जानकारी गराउन चाहन्छु । त्यसैगरी, पूर्णविक्रम क्षेत्रीबाट पनि गोली हान्ने धम्की आएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us