काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले जनतामा निराशा छाएको भन्दै राज्य सङ्कटमा रहेको दाबी गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले देशमा बाँच्न सकिन्न भन्ने भाष्य निर्माण नगर्न आग्रह समेत गरेका छन ।
प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बैठक सुरू गर्नासाथ सरकारको काम कारबाहीप्रति विरोध जनाउँदै विपक्षीसँगै उठेका थिए सत्तारुढ सांसद सिंह ।
उनले भने, ‘म सम्पूर्ण राजनीतिक दललाई, संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसदबाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई, हामी यसलाई घोचपेचको विषय नबनाऔँ । राज्य, जनता, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला, कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला।
सत्ता र प्रतिपक्ष स्थायी होइन ।’ उनले संसदभित्र उपस्थित सबै दललाई एकजुट पारेर राष्ट्रिय मुद्दा तय गर्न आग्रह समेत गरेका छन ।
उनले थपे, ‘जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशा हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ ।’