मेसीबारे प्रश्न गरिँदा रोनाल्डोले दिएनन् जवाफ, रिसाएर मुन्टो बटारे

काठमाण्डु टुडे २०८३ असार १० गते १६:१४ मा प्रकाशित

काठमाण्डू, १० असार– विश्वकपको पहिलो म्याचमा फ्लप भएका पोर्चुगलका सुपरस्टार रोनाल्डोले दोस्रो म्याचमा शानदार कमब्याक गरे । हिजो उज्वेकिस्तानविरुद्धको खेलमा २ गोल गर्दै उनले आफूलाई पुनः लयमा फर्काए । यो प्रदर्शनसँगै रोनाल्डो फेरि मेसीसित तुलना हुन थालेका छन् ।

प्रतियोगितामा दुई खेल खेल्दा ५ गोल गरेका मेसीलाई विश्वभरका अधिकांश फुटबलप्रेमीले सर्वकालीन महान खेलाडीको संज्ञा दिइरहँदा रोनाल्डोमाथि भने उनको करिअर सकिएको टिप्पणी भइरहेको थियो । तर रोनाल्डोले आलोचकहरुलाई जवाफ दिँदै आफूमा अझै फुटबलको जुनून बाँकी रहेको प्रमाणित गरे ।

हिजो म्याचपछि भने रोनाल्डो पत्रकारहरूसँग केही असन्तुष्ट देखिए । कारण थियो उनीहरुले सोधेकोको मेसीबारेको प्रश्न । खेलपछिको ‘मिक्सड जोन’ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दा लियोनल मेस्सीसँग सम्बन्धित प्रश्नहरूलाई ठाडो बेवास्ता गरे। विशेषगरी मेसीको प्रदर्शन र उनीसँगको तुलनाका बारेमा सोधिएका प्रश्नहरूमा रोनाल्डोले झर्को मानेका थिए ।

एक पत्रकारले मेसीले अघिल्लो दिन गरेको दुई गोल र केलियन एम्बाप्पेको चर्चा गर्न खोज्दा रोनाल्डोले बीचमै उनलाई रोकेर अर्कोतिर फर्किएका थिए ।

उनले ती पत्रकारलाई बेवास्ता गर्दै अर्का पत्रकारलाई प्रश्न सोध्न संकेत गरे । अर्का एक पत्रकारले ‘म पनि एउटा प्रश्न गरौं ?’ भनी अनुमति माग्दा रोनाल्डोले जवाफ दिए, ‘यो तिम्रो प्रश्नमा भर पर्छ, नत्र म जवाफ दिने छैन ।’

जब पत्रकारले प्रतियोगिताको पछिल्लो चरणमा मेसीको टोली अर्जेन्टिनासँग प्रतिस्पर्धा हुने सम्भावनाबारे सोधे, रोनाल्डोले त्यसलाई निरर्थक प्रश्नको संज्ञा दिए । उनले भने, ‘यसको जवाफ कसरी दिने मलाई थाहा छैन ।

यो प्रश्नको खासै अर्थ छैन । तर, यदि त्यस्तो खेल भयो भने त्यो निकै उत्कृष्ट हुनेछ ।’ अन्त्यमा मेसीको ह्याट्रिकबारे उनलाई टिप्पणी गर्न आग्रह गरिँदा रोनाल्डोले हिँड्दै भने, ‘मलाई अरुको बारेमा मतलब छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us