काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह बालेन पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा भाइरल बनेको पारिवारिक तस्बिरबारे स्पष्टीकरण दिँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भएर चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
काफ्लेले तस्बिरमा देखिएको झोला आफ्नो नभएको दाबी गर्दै उक्त झोला सुरक्षाकर्मी (पिएसओ) को निजी सामान भएको बताएकी छन् ।
उनले समाचार प्रकाशन गर्नुअघि घटनाको वास्तविकता बुझ्न र तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरेकी छन् ।
रास्वपाको महाधिवेशन बीचमै छोडेर बालेन शाह पत्नी र छोरीसहित बुद्ध एअरमार्फत काठमाडौं फर्किएका थिए ।
सो क्रममा विमानस्थलमा खिचिएको तस्बिरमा शाहले छोरी बोकेको देखिन्छ भने काफ्लेको हातमा मोबाइल मात्र देखिएको थियो ।
सुरक्षाकर्मीले झोला बोकेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री पत्नीको झोला सुरक्षाकर्मीलाई बोकाइएको भन्दै आलोचना भएको थियो ।
आफूमाथि भएको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै काफ्लेले लेखेकी छन्, ‘जुन सुरक्षाकर्मीले त्यो ब्याग बोक्नुभएको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अड्कलबाजीमार्फत मेरो चरित्र हत्या गर्न खोजिएको छ ।’
उनले महिलाको चरित्र हत्या गरेर चर्चामा आउन खोज्ने नियोजित मिडियाबाट यस्ता समाचार फैलाइएको आरोप समेत लगाएकी छन्। विगत केही समयदेखि आफूलाई पुराना राजनीतिक पात्रका श्रीमतीहरूसँग तुलना गर्दै टिप्पणी गर्ने क्रम चलिरहेको उल्लेख गर्दै उनले यसअघि मौन बसे पनि यसपटक बोल्न बाध्य भएको बताएकी छन् ।
नयाँ नेतृत्व आए पनि समाज र सञ्चारमाध्यमको दृष्टिकोण अझै पुरानै मानसिकताबाट निर्देशित रहेको उनको गुनासो छ ।
उनले चाहेको खण्डमा विषयलाई प्रेस काउन्सिलमार्फत कानुनी प्रक्रियामा लैजान सकिने भए पनि आफू आम नागरिकको हैसियतमा मात्र आफ्नो धारणा राख्न चाहेको स्पष्ट पारेकी छन् ।
‘यो एकदमै सानो कुरा हो र यस्तो सानोतिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा पनि होइन,’ काफ्लेले भनेकी छन्, ‘बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानीका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ र सञ्चारकर्मीहरूले यसमा सुधार गर्नुपर्छ ।’