काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदमा गणेश पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशनस्थलमा रहेको मिडिया डेक्समा सञ्चारकर्मीसग कुरा गर्दै उनले यसबारे जानकारी गराएका हुन । पार्टीलाई संस्थागत गर्न परिपक्व व्यक्तित्व चाहिने र आफूसँग त्यो क्षमता भएको दाबी गरे ।
उनले पार्टीको महत्त्वपूर्ण पदमा रहेने व्यक्ति समन्वयकारी भूमिका खेल्न सक्ने हुनुपर्ने पनि बताएका छन । पराजुलीले पार्टी सस्थापक सदस्यको हैसियतले पनि आफूमाथि सभापतिले प्रस्तुत गरेका राजनितीक प्रतिवेदन आम कार्यकर्तामाझ लैजानुपर्ने दायित्व रहेको उल्लेख गरे ।
उनले भने, ‘पार्टी निर्माण प्रक्रियामा रहँदा एउटा जग बसेको छ, विधान संशोधनमार्फत आएका कुराहरू कार्यान्वयन गर्दै पार्टी निर्माणलाई पूर्णता दिनुछ । त्यसका लागि मेरो दाबी महामन्त्रीमा हो ।’ यसअघि निवर्तमान प्रवक्ता मनिष झाले महामन्त्रीमा दाबी प्रस्तुत गरिसकेका छन् ।
त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले पनि महामन्त्रीमा आफ्नो दाबी सार्वजनिक गरेका छन् । रास्वपाको दुई सिट महामन्त्री पदका लागि एक सिटमा मनोनयन गर्ने र एक सिटमा प्रतिस्पर्धामार्फत ल्याउने तय छ ।