चितवन- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा बालेन शाह निकट समूहले आफ्ना उम्मेदवारहरूको सूची प्रतिनिधिहरूमाझ वितरण गरेको आरोप लागेको छ ।
पार्टी स्रोतहरूका अनुसार प्रधानमन्त्री बालेनका प्रशासन सल्लाहकार सुदीप ढकालको समन्वयमा भूगोल र समावेशी क्लस्टरका आधारमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि छुट्टै उम्मेदवार सूची तयार पारिएको हो ।
उक्त सूची प्रतिनिधिहरूमाझ वितरण गर्दै त्यसअनुसार मतदान गर्न आग्रह गरिएको दाबी गरिएको छ ।
सामाजिक सञ्जाल तथा प्रतिनिधिहरूबीच आदानप्रदान भइरहेको भनिएको सूचीमा मनिष खनाल, डा. नवरथ बानियाँ, डा. रूपक घिमिरे, प्रशान्त उप्रेती, पूजा बास्तोला, राजु मण्डल, सुदीप ढकाल, प्रकृति ढकाल, डा. तोसिमा कार्की, गणेश पराजुली, प्रदीप बिष्ट, आशिका तामाङ, विदुषी राणा, सागर ढकाल, सस्मित पोखरेल, गणेश कार्की, पुकार बम, सुशान्त वैदिक, राजु पाण्डेय, असिम शाह र बब्लु गुप्तालगायतका नाम समावेश रहेको दाबी गरिएको छ ।
स्रोतहरूका अनुसार सूची निर्माण तथा प्रतिनिधि परिचालनमा सुदीप ढकाल नेतृत्वको टोली सक्रिय रहेको छ ।
महाधिवेशनमा शीर्ष नेताहरूले गुटगत प्रतिस्पर्धा नगर्न सार्वजनिक रूपमा आग्रह गरिरहेका बेला समानान्तर रूपमा उम्मेदवारहरूको सूची वितरण भएको विषयले पार्टीभित्र थप चर्चा र चासो बढाएको छ ।
यद्यपि, सूची वितरण तथा प्यानल निर्माणसम्बन्धी आरोपबारे सुदीप ढकाल वा बालेनको सचिवालयले सार्वजनिक प्रतिक्रिया जनाएको छैन।
आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।