काठमाण्डू, ९ असार– सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न भनेको हो ।
‘सरकारले सुरुमा एकमुष्ट २५ हजारका दरले पैसा दिने, त्यसपछि मासिक १५ हजार दिने भनिसकेको छ,’ सूचना अधिकारी टोपबहादुर बानियाँले भने, ‘अब खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान भन्ने निर्देशन भएको छ । यो मन्त्रीस्तरमा निर्णय भएर हामीले यसको व्यवस्थापन हेर्नेछौँ ।’
यस्तै त्यो विषयको सूचना सबै होल्डिङ सेन्टरहरूमा समेत टाँसिएको छ । यदि २५ हजार रुपैयाँ लिएर पनि जाने विकल्प नभएकाको हकमा अर्को निर्णय हुने उनले जानकारी दिए । ‘सुरुमा अब यो प्रक्रियाबाट कतिजना जानुहुन्छ हेरौँ । त्यसपछि जाने उपाय नभएकाको लागि के गर्ने भन्नेबारे फेरी छलफल र अर्को निर्णय हुन्छ,’ उनले थपे ।
हालसम्म सबै होल्डिङ सेन्टरमा ३८८ घरपरिवार रहेका छन् । उनीहरूको स्क्रिनिङको काम सकिएको बानियाँले बताए । होल्डिङ सेन्टरमा नबसेका सुकुमवासीहरूको हकमा पनि रंगशालामा स्क्रीनिङको काम जारी रहेको छ ।