काठमाण्डू, ९ असार– दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन ।
भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय दोलखाले जानकारी दिएको छ ।
दुर्घटना परी काठमाण्डूको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, उनकी श्रीमती ५५ वर्षीया राम्री नासुर, छोरी २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर र २२ वर्षीया सुनिता तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सन्त, अनिता, सुजन र सुजितको अवस्था मध्यम रहेको र उनीहरूको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राम्री नासुर र सुनिता तामाङको अवस्था भने सामान्य रहेको छ । कार चालक काठमाण्डूको शंकरापुर नगरपालिका–३ का २१ वर्षीय निरज तामाङलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।