काठमाण्डू, ५ असोज– पूर्व मन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलले लिएको केही अडानका कारण देश कतिपय दुर्घटनाहरूबाट बचेको बताएका छन ।
आज (आइतबार) प्रगतिशील लेखक संघ, नेपालले काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्न चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको पनि बताएका छन ।
उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तिको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यू कि उहाँले केही केही अडान लिनुभएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरू बचेको पनि छ ।’ ज्ञवालीले थपे, ‘तर अगाडिका दिनहरू कसरी जान्छन ? भन्न सकिँदैन ।’
तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरूले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरू रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरू शक्तिहरूले चलखेल गरिरहेको जिकिर गरे ।
उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तिको कुरा छ ।’ संविधानका पक्षधर शक्तिहरूले कायम गर्न सके भने देश फेरि ट्र्याकमा आउने बताए ।
उनले अहिले देशमा जेनजीहरू निर्णायक ठाउँमा नरहेको बताए ।‘अहिले सिनमा देखिएका साथीहरूले अभिव्यक्तिहरू हेर्नुस् । उहाँहरू रनभूलमा पर्नु भएको छ । कहाँबाट उहाँहरूले सुरु गर्नु भयो । स्थिति कहाँबाट कहाँ पुग्यो ? उनीहरू यहाँ रोकिन चाहँदैनन,’ उनले भने । ज्ञवालीले चुनाव अगाडि अहिलेका राजनीतिक दलहरूलाई किनारा लगाएर चुनाव सम्भव नहुने पनि बताएका छन ।
‘मेरो विचारमा यस्तो स्थिति सिर्जना गर्ने कोसिस हुनेछ, जहाँ चुनाव हुन नसकोस् । एउटा रिक्तता सृजना होस्’ उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हट्न बाध्य बनाइयोस् । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस् । यो दिशामा लैजाने प्रयत्नहरू आगामी दिनहरूमा हुनेनै छन् ।’