गाडी दुर्घटनामा वडाध्यक्षसहित ५ जना घाइते

काठमाण्डु टुडे २०८२ साउन २३ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, २३ साउन– काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।

दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका– ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी रहेको बताइएको छ ।

अध्यक्ष गिरीको ट्रमा सेन्टर काठमाण्डूमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिएका छन । यस्तै बोलेरोमा सवार काभ्रे चौरीदेउराली गाउँपालिका ६ का पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेज बहादुर पन्थ उपचारपछि डिस्चार्ज भएका छन् ।

गएराति १० बजेतिर भुम्लु गाउँपालिका ८ पौवास्थित उकालोमा चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोक्किएको थियो । दुर्घटनाग्रस्त गाडीका चालक पाँचखाल नगरपालिका ५ का युनिस गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us