भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाण्डु टुडे २०८२ साउन २२ गते १७:४८ मा प्रकाशित

काठमाण्डू, २२ साउन– नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताबाट फेरी आन्दोलन गर्ने भएको छ । आज (बिहिबार) काठमाण्डूमा बसेका महासंघको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिएका छन । त्यसअघि भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।

उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका बिषयको आंकलन गरिने उनले बताए ।

बैठकमा सरकारसंग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समिक्षा गरिएको उनले जानकारी गराए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरि र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरि विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us