सरकारकै कारण विद्यालय शिक्षा विधेयक रोकियोः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन २२ गते १५:४० मा प्रकाशित

काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताका प्रमुख घटकदल कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् ।

आज (बिहीबार) राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग संवाद कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं ।’

उनले आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा दिने भनेर गालीगलौज गरेको पनि बताएका छन । प्रचण्डले भने, ‘हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै गर्दा, हामीले शिक्षकहरूको पक्षमा, विद्यार्थीको पक्षमा, विद्यालय शिक्षा विधेयकको पक्षमा बोल्दै गर्दा शिक्षकहरूलाई गाली गरेर किन चाहियो यिनीहरूलाई सुविधा भनेर गाली गर्ने प्रधानमन्त्री उहाँ नै होइन ?,

त्यही कारणले रोकिएको छ, उहाँ ढाँटछल गर्न धेरै सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने कुरामा ध्यान छैन, उहाँहरू नीजिकरणतिर हुनुहुन्छ, सार्वजनिक शिक्षाको पक्षमा हुनुहुन्न ।’ असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकिएको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us