बेलायती पत्रकारले देखेको नेपाल

काठमाण्डु टुडे २०७१ भदौ २० गते ६:०३ मा प्रकाशित

THOMAS_BELL_20140905085417काठमाण्डु, २० भदौ– जब उनी विद्यार्थी थिए, कुनै अफ्रिकी मुलुकमा गई पत्रकारिता गर्ने सपना पालेका थिए। तर, उनी पाकिस्तान पुगे। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिका जुम्ल्याहा टावरमा आतंकवादी हमला भएको बेलासम्म पत्रकार थोमस बेल पाकिस्तानमै थिए।

यसपछि उनी आफ्नै मुलुक बेलायत फर्के। क्रिसमसको याम एक दिन साथीको घरमा चुरोट र बियर तानिरहेका बेला कसैले फयाट्ट नाम लियो- ‘नेपाल।’ त्यसको केही समयमै थोमस नेपालको द्वन्द्वपीडित भेकतिर रिर्पोटिङ गरिरहेका थिए। २००२ मेमा काठमाडौं उत्रेका उनले त्यसयता देखेभोगेको नेपाल अनुभूति समेटेर किताब ल्याएका छन्। र्‍यान्डम हाउस इन्डियाले निकालेको ‘काठमान्डु’ बिहीबार दरबार मार्गस्थित सिटी म्युजियममा उनीसहित उनकी पत्रकार पत्नी सुविना श्रेष्ठले सार्वजनिक गरेका छन्।

‘आफू्ले रिपोर्टिङ क्रममा देखेभोगेका विषयवस्तु र सन्दर्भ टिपेर किताबको रूपमा यहाँहरूसमक्ष ल्याउन पाउँदा खुसी छु,’ थोमसले भने। अंग्रेजी किताबको घुम्टी खोली गर्नुअघि उनलाई पत्रकार कुन्द दीक्षितले अन्तरक्रियामा उतारेका थिए। थोमसले द्वन्द्वका बेला रिर्पोटिङ गर्नुपर्दाको क्षण, माओवादी प्रभावित क्षेत्रबाट गरेको रिपोर्टिङ अनुभवसँगै किताबमा उल्लिखित ‘काठमान्डु खुफिया एजेन्सीहरूको केन्द्र बन्दै गइरहेको’ बारे बोलेका थिए। ‘डेली टेलिग्राफ,’ ‘द इकोनमिस्ट’ जस्ता पत्रिकाका लागि रिपोर्टिङ गर्ने उनले किताबमा भने नेपालका इतिहास, संस्कृति, राजनीतिदेखि समाजसम्मका सन्दर्भ समेटेका छन्।

सिंगो नेपालकै सन्दर्भहरू समेटे पनि किताबको शीर्षक चाहिँ ‘काठमान्डु’ राखिएकोप्रति दर्शकदीर्घाबाट आएको टिप्पणीमा चाहिँ उनले ‘नेपाल अहिलेसम्म केन्द्रीकृत शासन प्रणालीमा रहेको र काठमान्डु एउटा केन्द्रीकृत शक्ति भएको हुनाले शीर्षक पनि सांकेतिक रूपमा राखिएको’ बताए।

पत्नीसहित नेपाल बस्दै आएका थोमसले किताबमा काठमाडौंका पुराना संस्कृति र मिथहरूको सन्दर्भ, राजनीतिक आन्दोलनहरूदेखि छिमेकी मुलुकहरूले काठमान्डुलाई प्रयोग भूमिको रूपमा गरिरहेको चलखेलसम्मका रोचक र अर्थपूर्ण सन्दर्भहरू समेटेका छन्।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us