ओली सरकार जनताको घेराबन्दीले आतङ्कित छः माओवादी

काठमाण्डु टुडे २०८१ माघ १७ गते १५:३२ मा प्रकाशित

काठमाण्डू, १७ माघ– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको घेराबन्दीले वर्तमान ओली सरकार आतङ्कित भएको बताएका छन् ।

आज (बिहीबार) प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाण्डूमा सम्बोधन गर्दै माओवादी उपाध्यक्ष समेत रहेका सापकोटाले यस्तो बताएका हुन ।

उनले भोलिदेखि विपक्षी दलहरूको समेत घेराबन्दीमा पर्ने जिकिर गरे । दुई तिहाइको सरकार भए पनि सरकार निकै कमजोर भएको सापकोटाले बताए । सरकार बनेको दिनदेखि नै केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको उनको तर्क छ । प्रवक्ता सापकोटाले भने, ‘सरकार यति आतङ्कित छ कि जनताको घेराबन्दीमा परेको छ ।

भोलिदेखि विपक्षीहरूको घेराबन्दीमा पर्दैछ । अहिले सत्तारुढ पार्टीका पनि हरेक दिन बैठक बसिराखेका छन् । विधेयकको विरोध गर्‍यो भने प्रतिवाद गर्नुपर्छ भन्छ । यसको अर्थ सरकार कमजोर भयो भनेर बुझ्नुहोला ।

उनीहरू बहस भन्दैनन् । प्रतिवाद गर्ने भन्छन् । यो कमजोर मानसिकताको द्योतक हो । डे वानदेखि नै सुशासन, सामाजिक न्याय, सेवा प्रवाह लगायत जीवनका हरेक क्षेत्रमा यो सरकार असफल भइरहेको छ ।’उनले ओली सरकार सदनदेखि भागिरहेको आरोप लगाउँदै सरकारले ल्याएको अध्यादेशमा बदनियत पूर्ण विषय भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us